बागमती प्रदेश युवा परिषद्को आयोजनामा दोस्रो युवा सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलन १३ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो । सम्मेलनले वि.सं २०८१ लाई सीप विकास वर्ष घोषणा गरेको छ । बागमती प्रदेशका ५ हजार युवालाई सीप सिकाउने लक्ष्यसहित प्रदेश युवा परिषद्ले युवा सम्मेलनको समापनको अवसरमा चालु वर्षलाई सीप विकास वर्ष घोषणा गरेको हो । जनसांख्यिक लाभलाई देशको समृद्धिको आधार बनाउन सीप विकास वर्ष घोषणा गरेको बताइएको छ । युवामा लगानीबिना देशको समृद्धि हुन नसक्ने दाबीसहित सम्मेलनले युवाहरुका लागि देशमै दिगो र प्रभावकारी सम्भावनाको खोजी गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ । प्रदेशका १३ जिल्लाका ११९ पालिकामध्ये ९१ पालिकाबाट १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २ सय बढी युवाको सहभागितामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा नीति, राजनीति र समृद्धि शीर्षकमाथि भएको बहसमा सहभागी अतिथि वक्ताहरुले सरकारले युवाको कुरा नसुनेको गुनासो गरेका छन् । बहसमा युवाहरुको प्रश्न र गुनासो सुन्न आएका प्रतिनिधिसभाका तीन सांसदले आफ्नै गुनासो पोखेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ र माओवादी केन्द्रका सांसद माधव सापकोटाले युवाहरुको प्रश्नको जवाफसँगै आफ्ना पीडासमेत सुनाए । सम्मेलनका सहभागी युवाले नीति निर्माणमा काम हुन नसकेको, मुलुक अस्थिरतामा फसेको, वडा अध्यक्षले गर्ने काम देखाएर सांसदले भोटको राजनीति गरेको, युवाहरुको मुद्दा सम्बोधन नभएकोलगायतका समस्या सुनाए । जवाफमा तीनै जना सांसदले निर्वाचन प्रणाली, संसदीय अंकगणितले निम्त्यिाएको अस्थिरता र सरकारको नेतृत्वकर्ताहरुको शैलीलाई कारक तत्व देखाए । जनताका प्रतिनिधिले उठाएका कुरा सरकारले सुन्दै नसुनेको गुनासो सांसदहरुको थियो । ८१ वटा कानुन निर्माण गर्नुपर्ने भए पनि विगत डेढ वर्षमा प्रतिनिधिसभाबाट ४ वटामात्रै कानुन बनेकाले सांसदमाथि प्रश्न उठ्ने गरेको एमाले सचेतक बर्तौलाको भनाइ थियो ।

संसदीय अंकगणितको खेलमा लागेर सत्ता गठबन्धनमा परिवर्तन गरिरहँदा देशमा राजनीतिक अस्थिरता बढेको स्वीकारोक्ति उनीहरुको थियो । टालाटुली बटुलीजस्तै सरकार रहेकाले युवाले अपेक्षा गरेअनुसारको काम हुन नसकेको कांग्रेस सांसद थिङको दावी छ । स्थिर सरकार बनाउने जिम्मा युवाहरुको काँधमा आएको भन्दै राज्यको नीति धेरै खराब नभए पनि परिचालन गर्ने व्यक्ति खराब भएको उनले बताइन् । माओवादी सांसद सापकोटाले शासकीय प्रणालीलाई दोष दिए । उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाबाट मात्र स्थिर सरकार बन्ने भन्दै संसदीय प्रणालीका कारण मुलुकमा अस्थिरता रहेको दावी गरेका हुन् ।

मुलुकको नीति निर्माण तहमा रहेका युवा सांसदको अनुभवले पनि राज्य व्यवस्था सही ढंगबाट चल्न नसकेको प्रष्ट हुन्छ । देशको आवश्यकता र आम युवाको गुनासो एकातिर छ, राज्यको नेतृत्व तहमा बसकेका व्यक्तिहरुको प्राथमिकता अर्कोतिर छ । संघीय र प्रदेश सरकार कसरी टिकाउने चिन्तामा रहेका कारण आम नागरिकको आवश्यकता कसरी पूरा गर्ने भन्नेतर्फ केन्द्रित हुन सकिरहेको छैन । जुन उद्देश्यले युवा सम्मेलन गरियो, त्यसको आधारमा यो सम्मेलन सफल भयो होला । तर, युवाको समस्या जहाँको त्यहीँ हुँदासम्म सम्मेलन सफल भएको मान्न सकिन्न । युवाको जायज आवाजलाई सरकारले सुनेर त्यसको उचित कार्यान्वयन नहुँदासम्म युवाको समस्या पनि समाधान नहुने निश्चित छ । सम्मेलन युवाको कुरा सुन्ने र सुनाउने माध्यम भए पनि यसले समाधान दिँदैन । युवा स्वयम् सचेत भएर राजनीतिक विकृति, विसंगतिको अन्त्य गर्न सकेमा युवाका समस्या समाधान हुनुका साथै देशको मुहार पनि फेरिने सम्भावना बुझ्नु आवश्यक छ । युवाका कुरा नसुन्ने दल र तिनका नेतृत्वलाई बहिस्कार गर्दै युवा आफैं नेतृत्व लिन अग्रसर बन्नुपर्छ ।