बागमती प्रदेशको दोस्रो युवा सम्मेलन–२०८१ सहभाहगीहरुको सामूहिक तस्बिर ।

हेटौँडाः १३ बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेशको दोस्रो युवा सम्मेलन–२०८१ आइतबार हेटौंडामा सम्पन्न भएको छ । प्रदेशका १३ वटै जिल्लाबाट २ सय प्रतिनिधि युवाको सहभागितामा बागमती प्रदेश युवा परिषद्को आयोजनामा सम्मेलन भएको हो ।

बागमती प्रदेशमा सबल, सक्षम र सशक्त अनि सीपयुक्त युवाहरू तयार गर्ने सोचसहितको अभियानलाई प्रभावकारी कार्यान्वयन गर्ने स्पष्ट लक्ष्य तथा कार्ययोजना तय गरी परिषद्को अग्रसरतामा दोस्रो युवा सम्मेलन आयोजना गरिएको उल्लेख गर्नुहुँदै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जारी घोषणापत्र मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बुझाउनुभएको छ । घोषणापत्र बुझ्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले युवामार्फत् समृद्ध बागमती प्रदेश निर्माण गर्ने बताउनुभयो । घोषणापत्रमा उल्लेख भएका विषयहरू प्रदेश सरकारको नीतिमा समावेश गरी आवश्यक योजना ल्याउने प्रतिबद्धता पनि मुख्यमन्त्री जम्कट्टेलले व्यक्त गर्नुभएको छ ।

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश युवा सम्मेलन–२०८१ ले जारी गरेको घोषणापत्रलाई कार्यान्वयन गर्ने विश्वास दिलाउनुभयो । आगामी आर्थिक वर्षको बजेट बनाउने समयमा युवालाई जोड दिएर बजेट निर्माण गर्ने धारणा उहाँले राख्नुभयो । गतवर्ष पनि प्रदेश युवा परिषद्ले ११ बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेशको प्रथम युवा सम्मेलन–२०८० हेटौंडामा सम्पन्न गरेको थियो । प्रदेशका १३ वटै जिल्लाबाट १ सय ५० प्रतिनिधि युवाको सहभागितामा बागमती प्रदेश युवा परिषद्ले प्रथम युवा सम्मेलन गरेको थियो । प्रथम युवा सम्मेलनले युवा वर्गमा राम्रो कार्य भएकाले युवा परिषद्ले युवाको संख्या यस वर्ष वृद्धि गरेर २ सय पु¥याएको हो । प्रदेश युवा परिषद्ले युवा वर्गको क्षेत्रसँगै प्रदेशका महिला, युवा जनशक्तिलाई सीपमूलक तालिमको व्यवस्था गर्दै आएको छ ।

बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमती प्रदेशका युवाहरूको चाहना र आवश्यकताहरूको सम्बोधन गरिने घोषणापत्रमा उल्लेख छ । बागमती प्रदेश युवा परिषद्ले सञ्चालन गरिरहेको युवाहरूको सीप विकास तथा सीप परीक्षणलाई अझ प्रभावकारीरुपमा कार्यान्वयन गर्ने घोषणापत्रमा छ । बागमती प्रदेश सरकारले घोषणा गरेको सीप विकास वर्ष २०८१ सफल बनाउन बागमती प्रदेश युवा परिषद्को नेतृत्वमा प्रभावकारीरुपमा कार्यान्वयन लैजानुपर्ने माग गरिएको छ । बागमती प्रदेशको कला, संस्कृति, पुरातत्व र ऐतिहासिक तथा प्राकृतिक क्षेत्रहरूको पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवद्र्धनमा युवाहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।