हेटौंडाः हेटौंडामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषा शिक्षा कार्यक्रम सुरु भएको छ । शुक्रबार नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
तामाङ घेदुङ प्रदेश समितिका अध्यक्ष लीलाकुमार घलानको सभाध्यक्षतामा सुरु भएको कार्यक्रम आज शनिबारसम्म सञ्चालन हुनेछ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष घलानले भाषा आयोगले सिफारिस गरेअनुरुप तामाङ र नेपाल भाषा प्रदेश सरकारको कामकाजी भाषा बनाइएको बताउनुभएको छ । बागमती प्रदेशको विभिन्न पालिकाहरुमा भाषा शिक्षा लागू भएको बताउनुभयो ।
स्थानीय तहमा तामाङ भाषासम्बन्धी विकास गर्नका लागि कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो । प्रदेशमा नेपाल र तामाङ भाषा कामकाजी भाषको रुपमा लागू भएपछि कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो । कामाकाजी भाषा पारित भएकाले बहुभाषिक ज्ञानको विकास हुने उहाँले अपेक्षा गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले मातृभाषा शिक्षाको कार्यान्वयन गर्ने कार्यमा सामाजिक संस्थाभन्दा पनि जिम्मेवारीपूर्ण ढंगबाट राज्य लाग्नुपर्ने बताउनुभएको छ । भाषा आयोगलाई कार्यान्वयनमा ल्याउनका लागि घेदुङले ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो । संयुक्त राष्ट्र संघले सन् २०२२ देखि २०३२ सम्म अन्तर्राष्ट्रिय भाषा दशकको रुपमा घोषणा गरेको उहाँले बताउनुभयो ।
मातृभाषा विषय शिक्षा कार्यान्वयनको चरणअन्तर्गत् नेपाल तामाङ घेदुङ र स्थानीय सरकारहरुबीच सम्झौता भएको बताउनुभयो । जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति, घेदुङ र भाषा आयोगको सहकार्यमा स्थानीय भाषा संरक्षणका लागि विकास नीतिसम्बन्धी कार्यक्रमको आयोजना गरेको उहाँको भनाइ छ । तामाङ भाषासम्बन्धी विषय प्रशिक्षण दिएको बताउनुभयो । पुस्तक प्रकाशनका लागि सम्बन्धित पालिका हुँदै विद्यालयहरुमा हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका, नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका, मकवानपुर जिल्लाको थाहा नगरपालिका, सिन्धुली जिल्लाको मरिण गाउँपालिका, सिन्धुपाल्चोकको जुगल गाउँपालिका र रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा तामाङ मातृभाषा विषयको शिक्षा लागू भएको उहाँले बताउनुभयो । उहाँले वि.स.२०४९ सालमा तामयिग लिपि र भाषालाई सँगै लाने निर्णय गरेको र उक्त काम वि.स. २०५४ सालको चौथो महाअधिवेशनबाट पारित भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्बाट तामाङ समुदायको छाता संस्थाको रुपमा पारित गरिएको बताउनुभयो । अहिलेको पाठ्यक्रमले समाजमा भएको परिवर्तनलाई अत्मसाथ गर्न नसकेको बताउनुहुँदै परम्परागत र सामाजिक चेतना नै पक्षपोषण गरिरहेको बताउनुभयो ।
कार्यक्रममा मकवानपुर जिल्लाको विभिन्न विद्यालयका प्रधानाध्यापक र अन्य क्षेत्रमा व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी हुनेहरुलाई आफ्नो धारणा राख्ने अवसर प्रदान गरिएको थियो । हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका छात्र रोहित थापाले आफूले जन्मेदेखि नै नेपाली भाषा सुन्दै र बोल्दै आएकाले तामाङ भाषामा पोख्य नभएको बताउनुभएको छ । आफ्नो घर वरपरका साथीहरुले तामाङ भाषाको प्रयोग गर्दा आफूलाई पनि त्यस भाषाप्रति रुचि लाग्ने गरेको बताउनुहुँदै थापाले भन्नुभयो– ‘जब अरु व्यक्तिहरुले एक अर्कासँग कुरा गर्दा अन्य भाषाको प्रयोग गर्छन्, त्यस्तो समयमा मलाई पनि त्यो भाषा बोल्न आएको भए उनीहरुसँग कुरा गर्थेँ ।’ अन्य भाषाको प्रयोग गर्ने क्रममा अरुसँग तुलना गर्दा आफूले राम्ररी बोल्न नजान्ने उहाँले धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष शोभा तामाङ, संघीय कोषाध्यक्ष कय योन्जन, शिक्षाविद् विद्यानाथ कोइराला, भाषविद् लोकबहादुर कार्की, हेटौंडा उपमहानगरपालिकाको ११ नम्बर वडाका अध्यक्ष जुना दहाल र हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जनको पनि उपस्थिति रहेको थियो ।