सांकेतिक तस्वीर ।

हेटौंडाः विभिन्न घटनामा एकै दिन चितवनमा ३ जनाको मृत्यु भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिकाको विभिन्न ठाउँमा एकै दिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको हो ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकमा मानवसेवा आश्रममा आश्रित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय रामप्रसाद सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ ।
सापकोटालाई गत शुक्रबार चितवन भरतपुर महानगरपालिका–४, धर्मचोकको चौताराबाट बेवारिसे अवस्थामा उद्दार गरिएको थियो । उद्दार गरी मानवसेवा आश्रममा राखिएकोमा बिहीबार बेलुका ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० मा ईनारभित्र डुबी एक जना पुरुष मृत फेला परेका छन् । बिहीबार दिउँसो २ बजेको समयमा नामथर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको मुचुल्का तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चितवन जिल्लाकै भरतपुर महानगरपालिका–२, लीलाचोकमा सुतेको अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भरतपुर महानगरपालिका–१०, हाकिमचोकका ५५ वर्षीय दिलिपप्रसाद उपाध्याय रहेको प्रहरीले जानकारी दिएको छ ।

मनकामना ट्रान्सपोर्टमा एकाउन्टेन्टको रुपमा काम गर्ने उपाध्याय बिहीबार साँझ सँगै काम गर्ने सुनसरी जिल्ला बराह नगरपालिका–७ का ४९ वर्षीय ऋषिकेश भट्टराईको कोठामा गई सुतेका थिए । भट्टराईले शुक्रबार बिहान ३ बजेर ३५ मिनेटको समयमा बोलाउँद नबोलेको र हेर्दा मृत्यु भइसकेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।