आइतबार पहिलो दिन कक्षा कोठामा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले वैकल्पिक शिक्षण प्रणालीबाट विद्यालयको सिकाई सहजीकरण निर्देशिका २०७७ कार्यान्वयन गर्न विद्यार्थी संख्या, विद्यार्थीको व्यक्तिगत विवरण पेश गर्न पटक–पटक आग्रह गरेपनि विद्यालयहरुले अटेर गरिरहेको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाको ७७ सामुदायिक विद्यालय मध्ये हालसम्म ३० वटा विद्यालयले मात्र तथ्याङ्क पेश गरेको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख पूर्णबहादुर अछामीले बताउनु भएको छ । हाल केहि विद्यालयले विवरण पेश नगरी आफु खुशी विद्यार्थी बोलाएर, सामाजिक दुरी कायम गरी विद्यालय सञ्चालन गरिरहेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्तो नगर्न पनि शिक्षा महाशाखाले सचेत गराएको छ । संघीय सरकारको निर्देशन पालना गरी कोरोना महामारीको समयमा विद्यालय संचालन नगर्न महाशाखाले आग्रह गरेको छ ।

सबै विद्यालयले विवरण समयमै पेश गरेदेखि वैकल्पिक शिक्षण प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न सकिने महाशाखा प्रमुख अछामीको भनाइ छ । हेटौंडाका १९ वटै वडामा इन्टरनेटको पहूँच पुगे, नपुगेको र टिभि, रेडियोको पहूँचका बारे तथ्यांक संकलन गरी कुन ठाउँमा कुन माध्यमको बढि प्रभाव छ सोहि अनुसारको शिक्षण सेवा प्रभावकारी बनाउन खोजेपनि विद्यालयहरुले अझैसम्म विवरण पेश नगर्दा समस्या भएको अछामीले बताउनु भएको छ ।