हेटौंडाः मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमित दुईजना थपिएका छन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शुक्रबार साँझ ५ बजे सार्वजनिक गरेको दैनिक प्रतिवेदनमा दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । हेटौंडास्थित आइसोलेसन कक्षका इन्चार्ज भोला चौलागाईका अनुसार बकैया गाउँपालिकाका १७ वर्षीय किशोर र मनहरी गाउँपालिकाका २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैजना भारतबाट आएका हुन् ।

मनहरीका २६ वर्षीय युवक भारतको गोवाबाट जेठ २५ गतेआएर क्वारेन्टाइन बसेका हुन् भने बकैयाका १७ वर्षीय किशोर भारतको दिल्लीबाट आएका हुन् । दुबैजना सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन् । दुबैजनालाई शुक्रबार साँझ हेटौंडास्थित आइसोलेसन कक्षमा ल्याइएको छ । शुक्रबार बेलुकीसम्ममा हेटौंडास्थित क्वारेन्टाइनमा कोरोना संक्रमित ५ जना रहेका छन् । यस्तै कोरोना संक्रमणको लक्षण देखिएका १२ जना आइसोलेसनमा रहेको इन्चार्ज चौलागाईले बताउनुभएको छ ।