उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ ।

हेटौँडाः औषधी व्यवसायी संघ बागमती प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबार हेटौँडामा सुरु भएको छ । प्रदेश समितिका अध्यक्ष ध्रुव नारायण श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशको स्वस्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन समारोह भएको हो । उद्घाटन समारोहमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको पनि आतिथ्य रहेको थियो ।

शुक्रबार साँझ उद्घाटन कार्यक्रम सकिएको छ भने नयाँ नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदैछ । बैशाख ६ गते नै निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको र १७ सदस्यीय प्रदेश समितिमा ९ जना सर्वसम्मत भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा चितवनका शिवप्रसाद पण्डित, कोषाध्यक्षमा काठमाडौंका राजेशभक्त श्रेष्ठ, सचिवमा मकवानपुरका विनोद कुमार लामिछाने, उप–कोषाध्यक्षमा धादिङका राजु अधिकारी सर्वसम्मत चयन हुँदा थोक आयाततर्फ सदस्यमा मकवानपुरका संघर्ष गुरुङ, चितवनका कपिल सुवेदी, खुद्रतर्फ मकवानपुरका सुधीर दाहाल, चितवनका धविन्द्र वन र दोलखा–रामेछाप शाखाकी पार्वती श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

३ वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष ध्रुवनारायण श्रेष्ठ र काठमाडौंका कृष्णप्रसाद पाण्डेको उम्मेदवारी परेको छ । थोक÷आयात उपाध्यक्षमा काठमाडौंका बद्रिप्रसद श्रेष्ठ र काठमाडौंकै अशोक मल्लको उम्मेदवारी परेको छ । यस्तै खुद्रा उपाध्यक्षतर्फ काठमाडौंका नवराज खनाल, मकवानपुरका बुद्धराम श्रेष्ठको उम्मेद्वारी रहेको छ भने महासचिवमा ललितपुरका राजु श्रेष्ठ र काठमाडौंका कुमार कसीको उम्मेदवारी परेको छ । यस्तै ४ जना खुला सदस्यमा नुवाकोटका रवि दास श्रेष्ठ, ललितपुरका जीवन महर्जन, भक्तपुरका अनिलमान श्रेष्ठ, काठमाडौंका पञ्चकुमार श्रेष्ठ र काठमाडौंकै विनोद चौधरी सदस्यमा उम्मेदवार बनेका छन् ।

प्रदेश समितिको अधिवेशनमा १ सय ३४ जना व्यवसायी मतदाता छन् भने पर्यवेक्षकसहित एक सय ६० जनाको सहभागिता रहने बताइएको छ । बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुरसहित १० जिल्लामा शाखा सञ्चालनमा रहेको छ । बागमती प्रदेशको सिन्धुली, सिन्धुपाल्चोक र रसुवा जिल्लामा औषधी व्यवसायी संघ गठन हुन सकेको छैन । प्रदेश अध्यक्ष श्रेष्ठले मूल्यमा एकरुपता कायम गर्दै गुणस्तरीय औषधी वितरणमा संघको महत्वपूर्ण भूकिा रहेको बताउनुभयो । सरकार पुग्न नसकेको स्थानमा निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सेवा र औषधि सेवा प्रदान गरिरहेको श्रेष्ठको भनाइ छ । औषधी व्यवसायीको नियामक निकाय औषधी व्यवस्था विभाग भए पनि जुनसुकै सरकारी निकायको अनुगमनले व्यवसायीलाई तनाव भइरहेको उहाँले गुनासो गर्नुभयो । साधारणसभाको अवसरमा स्मारिका समेत प्रकाशन गरिएको छ ।