नेपाली, तामाङ र नेपाल भाषामा लेखिएको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को साइनबोर्ड ।

हेटौँडाः बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्ने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश सरकारी कामकाजको भाषाको रुपमा तामाङ भाषा र नेपाल भाषालाई यही बैशाख २४ गतेबाट सुरुवात गर्ने निर्णय गरेको छ । प्रदेश सरकारी कामकाजको भाषाको सुरुवात प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने बताइएको छ ।

यस्तै प्रदेश सरकारको कामकाजको भाषा शुभारम्भ भएको दिन बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारी कार्यालयका साइनबोर्ड, लेटरप्याडमा नेपाली, तामाङ र नेपाल भाषामा लेख्ने निर्णय समेत भएको छ । विभिन्न जातीय संगठनहरुले कामकाजी भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई प्रयोगमा ल्याउन माग गर्दै आएका थिए ।