गत शनिबार प्रवेश परीक्षा दिँदै विद्यार्थी ।

हेटौँडाः हेटौँडा–१०, गोरक्षेश्वरधामस्थित संस्कृत वेद विद्यालयमा बुधबारदेखि पठनपाठन सुरु भएको छ । बुधबार पाठ्यपुस्तक वितरण गरेर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक गोपालप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । यो वर्ष विद्यालयमा विद्यार्थी संख्या पनि उल्लेख्य वृद्धि भएको छ ।

शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा २१ जना सहभागी भएका थिए । एक जना ८ कक्षा उत्तीर्ण गरी विदाई भएका छन् भने १२ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । ५ कक्षादेखि ८ कक्षासम्म पठनपाठन हुने संस्कृत वेद विद्यालयमा विद्यार्थीले कुनै किसिमको शूल्क तिर्नुपर्दैन भने खाना र आवास समेत निशूल्क उपलब्ध छ । विद्यालयले ४० जना विद्यार्थीलाई आवासीय सुविधा समेत प्रदान गर्न सक्ने क्षमता छ । गत शनिबार विद्यालयले नयाँ भर्ना हुन चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा समेत लिएको थियो । प्रवेश परीक्षामा ८ जना सहभागी थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले विद्यालयमा सुधारपछि विद्यार्थी र अभिभावकको ध्यानाकर्षण भएको र विद्यार्थी भर्ना हुने क्रम पनि बढेको जानकारी दिनुभयो । शैक्षिक सत्र २०८१ मा विद्यार्थीको संख्या ४० पुर्याउने लक्ष्य रहेको अध्यक्ष थापाको भनाइ छ । बुधबारसम्म ३२ जना विद्यार्थी रहेकोले ४० जना विद्यार्थी सजिलै पुर्याउन सकिने अध्यक्ष थापा बताउनुहुन्छ । जिल्लाकै एक मात्र संस्कृत विद्यालय भएकोले सबैको साथ र सहयोगमा अझ राम्रो गर्दै जाने योजना रहेको थापाले सुनाउनुभयो ।

पछिल्लो समय विद्यालयलाई सहयोग प्राप्त हुने क्रम पनि बढेको छ । जन्मदिन, पीतृको स्मृति दिवसमा हेटौँडा बजार र आसपासका व्यक्तिले नगद तथा खाद्यान्न सहयोग गर्दै आएका छन् । हेटौँडा उपमहानगरपालिकाले अक्षयकोषका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त भएको जानकारी गराउनुहुँदै अध्यक्ष थापाले भन्नुभयो, “हामीले पनि अक्षयकोषमा एक लाख भन्दा बढी सहयोग संकलन गरिसकेका छौं ।” संस्कृत वेद विद्यालयमा मकवानपुरसहित सर्लाही, बारा, पर्सा, चितवन, कास्की जिल्लाका विद्यार्थी अध्यययनरत छन् ।