तालिम समापन पश्चात सामुहीक तस्वीर खिचाउँदै

हेटौँडाः मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको आयोजना तथा बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी विकास बोर्डको आर्थिक सहयोगमा हेटौँडामा आयोजना भएको आधारभूत सहकारी लेखापाल तालिम सम्पन्न भएको छ । सोमबार संघका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्ष तथा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्नुहुँदै संघका अध्यक्ष न्यौपानेले हरेक सहकारीको लेखा व्यवस्थित भए मात्र सहकारी राम्रोसँग चल्न सक्ने बताउनुभयो । पछिल्लो समय केही सहकारीहरुले लेखा व्यवस्थित नगर्दा विभिन्न समस्या उत्पन्न भएर सहकारी डुबेको उहाँले बताउनुभयो । उहाँले तालिममा सिकेका सिकाइहरु आ–आफ्नो सहकारीमा गएर कार्यान्वयन गर्न आग्रह गर्नुभयो । यसले सहकारी सुदृढीकरणमा सहयोग पुग्ने उहाँको भनाई छ ।

बुधबारबाट सुरु भएको तालिममा जिल्लाभित्र बहुउद्देश्यीय, बचत तथा ऋण र कृषि सहकारीका २० जनाको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षकको रुपमा रामेश्वर अर्याल, सीताराम दाहाल, नवराज खनाल र गोविन्द दाहाल रहनुभएको थियो । तालिम समापन कार्यक्रममा हेटौँडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, मकवानपुर जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हरी कँडेल र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका पुर्व उपाध्यक्ष एवम् जिल्ला बचत संघ मकवानपुरका निवर्तमान अध्यक्ष राधा सिन्तान लगायतको उपस्थिति रहेको थियो ।