यतिबेला विद्यालयमा विद्यार्थी भर्नाको क्रम सुरु भएको छ । बैशाखबाट विद्यालयहरुको नयाँ शैक्षिक सत्र सुरुवात हुन्छ । अहिले सबैजसो विद्यालयहरुले वार्षिक परीक्षा सम्पन्न गरेर नतिजाको तयारी गरिरहेका छन् । केही विद्यालयहरुले विद्यार्थीको नतिजासमेत सार्वजनिक गरिसकेका छन् । नतिजा सार्वजनिक भएसँगै विद्यालयहरुले नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना कार्यक्रम अघि बढाएका छन् । चैत महिनामा प्रायः विद्यालयमा पठनपाठन हुँदैनन् । स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा र राष्ट्रिय परीक्षा बोर्डले गर्ने कक्षा १० को एसईई परीक्षा चैत महिनामै हुने गर्दछ । विद्यालयहरुले नै सञ्चालन गर्ने कक्षा ९ सम्मका वार्षिक परीक्षा पनि यही महिना हुने गर्दछ । परीक्षा सम्पन्न भएर नतिजाको तयारी भइरहँदा र नयाँ शैक्षिक सत्र सुरु नहुँदासम्म धेरैजसो विद्यालयले चालु शैक्षिक सत्रको समीक्षा र नयाँ शैक्षिक सत्रको शैक्षिक योजना निर्माणको काम गर्ने गर्दछन् । यस क्रममा नयाँ विद्यार्थी भर्नाको योजना पनि विद्यालयहरुले बनाउने गर्दछन् ।
करिब दुई दशक अघिदेखि सरकारको आह्वानमा हरेक वर्ष विद्यार्थी भर्ना अभियान सञ्चालन गरिँदै आएको छ । विद्यालय जाने उमेरका कुनै पनि बालबालिका पठनपाठनबाट अलग नहुन् भन्ने उद्देश्यले विद्यालय भर्ना अभियान सञ्चालन गर्ने गरिएको हो । सबै बालबालिकालाई विद्यालय शिक्षामा सहभागी गराउन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने गरिन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत्को शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब एक साताअघि शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान सुरु गर्न निर्देशन जारी गरिसकेको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न केन्द्रले अनुरोध गरेको छ । केन्द्रले ७७ वटा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई, सबै स्थानीय तह तथा विद्यालयहरुलाई वैशाख पहिलो हप्ता विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
पछिल्लो समय कतिपय सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढ्दै जाँदा विद्यालयहरुले पनि विद्यार्थी भर्ना अभियानमा जोड दिने गरेका छन् । धेरै विद्यार्थी भर्ना हुन चाहने र विद्यालयको सिमित साधन स्रोतका कारण विद्यालयहरुले प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरेका छन् । यसैबीच हेटौंडा–४, कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रमा करिब ३ सय नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको छ । विद्यालयले शनिबार सरोकारवालासँग गरेको अन्तरक्रियाको क्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयप्रति समुदायको विश्वास बढ्दै गएका कारण विद्यालयले थप ३ सय जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको बताएका हुन् । विगतमा विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण कम भएको अवस्थामा विद्यालयले भौतिक तथा शैक्षिक सुधारगर्दै गएका कारण विद्यार्थीको आकर्षण बढ्न थालेको बताइएको छ । अभिभावकको चाहनाबमोजिम विद्यालयले अंग्रेजी माध्यममा समेत पठनपाठन सुरु गरेर समुदायमा विद्यार्थी भर्नाका लागि घरदैलोसमेत गरेको छ ।
विद्यार्थी भर्ना अभियानबाट विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयनमा सहजता पुगेको छ । विविध कारणले विद्यालय छाडेर बसेका वा विद्यालय नै नआएका विद्यार्थीलाई भर्ना अभियानको क्रममा विद्यालयमा ल्याउने गरिए पनि त्यस्ता विद्यार्थीलाई विद्यालयमा टिकाउन भने निकै चुनौतीपूर्ण हुने गरेको छ । भर्ना अभियानका क्रममा विद्यालय आएका विद्यार्थी र अन्य कतिपय विद्यार्थी टिकाउन नसक्दा भर्ना अभियान औचित्यहीन बनिरहेको छ । विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर रहनु एउटा समस्या हो भने विद्यालय आएका विद्यार्थीले बीचमै पढाई छाड्नु अर्को समस्या हो । कक्षा १ मा भर्ना भएका विद्यार्थी संख्याको करिब एक तिहाईले मात्र एसईई दिने गरेको तथ्यांकलाई हेर्दा सरकारले विद्यार्थी भर्नासँगै उनीहरुको पठनपाठनमा निरन्तरताका लागि विशेष जोड दिनु आवश्यक देखिन्छ ।