शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा सफल भएकालाई सम्मानपछि खिचिएको तस्वीर ।

हेटौँडाः हेटौँडा–४, स्कूलरोडस्थित पेन्टागन एकेडेमी प्रालिले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह शिक्षकको परीक्षामा उत्तीर्णलाई सम्मान गरेको छ । एकेडेमीमा तयारी कक्षामा सहभागी भई उत्तीर्ण भएकाहरुलाई सम्मान गरेको हो । हालै आयोगले सार्वजनिक गरेको नतीजाअनुसार यस वर्ष प्राथमिक तहको परीक्षामा उत्तीर्ण ५० जनासहित गत वर्ष उत्तीर्ण भएकाहरुलाई पनि सम्मान गरेको छ ।

मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीलगायतका जिल्लामा नाम निकाल्न सफल उम्मेदवारलाई एकेडेमीले टिका, खादा र प्रमाणपत्रसहित सम्मान गरेको हो । एकेडेमीका सञ्चालक गोविन्द चौलागाईको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तयारी कक्षाका प्रशिक्षकलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा सम्मानित कृष्ण लामाले आफू ७ वर्ष विदेश बसेर आएपछि आयोगको परीक्षामा सहभागी भई उत्तीर्ण भएको उल्लेख गर्नुभयो । विदेशमा भोग्नु परेको दुखपछि आयोगको तयारी गरेर सफल भएको उहाँको भनाइ थियो ।

११ वर्ष प्रधानाध्यापकको भूमिका निर्वाह गर्नु भई १६ वर्ष शिक्षणपछि आयोगको परीक्षामा २०७९ सालमा उत्तीर्ण हुनुभएका राजु रेग्मीले महत्वपूर्ण उपलब्धीको रुपमा लिएर विद्यालयमा राम्रो शिक्षा प्रदान गर्न अग्रसर भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले प्रतिवद्ध र इमानदार भएर काम गर्न सुझाव दिनुभएको छ ।