हेटौँडाः विभिन्न घटनामा एकै दिन ३ जनाको मृत्यु हुँदा २ जना मृत भेटिएका छन् । बागमती प्रदेशको नुवाकोट, चितवन, दोलखा र रामेछाप जिल्लामा ३ जनाको मृत्यु हुनुका साथै २ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाको बिदुर नगरपालिका–५, गंगटेचोकमा एक जना पुरुष मृत फेला परेका छन् । बिहिबार कृष्णमन्दिर परिसरमा कालो रंगको सुरुवाल र रातो खैरो रंगको ज्याकेट लगाएको मागेर हिँड्ने नाम थर नखुलेको अन्दाजी ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१९, शरदानगरमा हड्डी घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ जिल्ला घर भई हाल शारदानगर बस्ने २२ वर्षीय करण सुनार रहेको प्रहरीले जानकारी दिएको छ । चैत १२ गते मासु खाँदा सुनारको घाँटीमा हड्डी अड्किएर उपचारका लागि स्थानीय सिद्धेश्वर हेल्थ कियरमा उपचार पश्चात औषधी सेवन गरी बसिरहेका थिए । सुनारलाई बिहिबार बिहान ११ बजेको समयमा उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा बिहिबार दिउँसो १२ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–३, बसपार्कमा होस्टलको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१०, रामबजार बस्ने १७ वर्षीया करुणा अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । च्छो–रोल्पा नर्सिङ कलेजमा बि.एड. प्रथम बर्षमा अध्यनरत अधिकारी सोही होस्टलको ५ (पाँच) तला माथिबाट लडी गम्भिर घाइते भएकी थिइन् । घाइते अधिकारीलाई उपचारका लागि च्छो–रोल्पा अस्पताल चरिकोट लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर रिफर गरिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४, हिमगंगामा पौडी खेल्ने क्रममा नदीमा डुबी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ वर्षीय भिम बहादुर श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठको बिहीबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा लिखुखोलामा पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रामेछाप जिल्लाकै रामेछाप नगरपालिका–२, बेसीडाँडामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रामेछाप नगरपालिका–२, देउराली बस्ने ४७ वर्षीय ललित बहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ ५ बजेर ४० मिनेटको समयमा खत्री मलामी गएर घर फर्कने क्रममा बेसीडाँडाको सेरा खोला कच्ची सडकमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि मन्थली अस्पताल लगिएको छ ।