हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा नवनियुक्त क्याम्पस प्रमुख, सहायक र प्राध्यापक संघमा नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा निवर्तमान क्याम्पस प्रमुख, सहायक र प्राध्यापक संघका पदाधिकारीलाई सम्मान गरिएको छ । पब्लिक क्याम्पस प्राध्यापक संघको आयोजनामा शुक्रबार बिहान स्वागत तथा सम्मान कार्यक्रम भएको हो ।
पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । मकवानपुर बहुमुखी क्याम्पसका नवनियुक्त प्रमुख डा. यमबहादुर सिलवाल, सहायक क्याम्पस प्रमुखहरु संगम चौलागाई, उत्तम अर्याल र दिनेश विडारी, प्राचार्य सन्देश विडारीलाई स्वागत गरिएको छ । यस्तै निर्वाचन समितिले पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष घनश्याम घिमिरेसहित पदाधिकारी तथा सदस्यलाई स्वागत गरिएको छ । यस्तै निवर्तमान क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख रामेश्वर बराल, डा. यमबहादुर सिलावाल र डा. रामप्र्रसाद अधिकारीलाई सम्मान गरिएको छ । यस्तै पब्लिक क्याम्पस संघका निवर्तमान अध्यक्ष केशव तिमल्सिनासहित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको छ ।
चैत ३ गते सम्पन्न अधिवेशनबाट घनश्याम घिमिरेको अध्यक्षतामा पब्लिक क्याम्पस प्राध्यापक संघ सर्वसम्मत निर्वाचित भएको थियो भने चैत १० गते क्याम्पस सञ्चालक समितिले डा. यमबहादुर सिलवाललाई क्याम्पस प्रमुख नियुक्त गरेको थियो ।
स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलले क्याम्पसका नवनियुक्त प्रशासकका लागि अवसर र चुनौति दुवै रहेको उल्लेख गर्नुहुँदै संस्थागत र सामूहिक प्रयासमा काम गर्न सुझाव दिनुभएको छ । यसअघिको क्याम्पस प्रशासकले क्याम्पसको आर्थिक अनुशासन कायम राखेको, जटिल अवस्थामा पनि क्याम्पसको आर्थिक अवस्था सवल बनाउन सफल भएको भन्दै प्रशंसा गर्नुभएका अध्यक्ष पौडेलले आर्थिक अनुशासनलाई कायमै राख्न र अझै सुधार गर्दै लैजान आग्रह गर्नुभएको छ ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष अशोक शाक्यले मकवानपुर बहुमुखी क्याम्पसको हिजोको अवस्था र आजको अवस्थाको विश्लेषण गरेर वृहतरुपमा सोँचेर काम गर्नु सुझाव दिनुभएको छ । कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले नवनियुक्त क्याम्पस प्रमुख र सहायक प्रमुखहरुलाई संस्थागत हितमा सामूहिक प्रयासमा निर्णय गर्न सुझाव दिनुभयो । प्रमुख, सहायक प्रमुख र प्राचार्यले सामूहिक प्रयास रहनुपर्नेमा जोड दिनुहुँदै उहाँले आफ्नो कार्यकालमा प्राध्यापक संघको साथ र सहयोगमा राम्रो काम गर्ने प्रयास भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले क्याम्पसको तल्लो तहदेखि नै जिम्मेवारी लिँदै क्रमशः क्याम्पस प्रमुखसम्म भएको उल्लेख गर्नुहुँदै आफ्नो अनुभवले राम्रो काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । सबैको सल्लाह, सञ्चालकको विश्वासमा काम गने बताउनुहुँदै कक्षा–कोठाको सुधारसँगै नयाँ भवन निर्माणको काम पनि गर्नु जरुरी रहेको उहाँले औँल्याउनुभएको छ । यसअघिको कार्यकालको राम्रो अभ्यासलाई स्थापित गर्ने र नयाँ राम्रा काम गर्ने प्रयास रहने डा. सिलवालले बताउनुभएको छ । आफ्नै पाठ्यक्रम निर्माण गरेर पठनपाठन गर्ने, सार्वजनिक विश्वविद्यालय निर्माणको प्रक्रियालाई टुंग्याउनु पर्ने बताउनुहुँदै क्याम्पस प्रमुख सिलवालले प्राध्यापक, कर्मचारी, सरोकारवालाको सहभागितामा कार्यशाला नै आयोजना गरेर आगामी योजना बनाउने स्पष्ट पार्नुभएको छ । विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा, आफ्नै प्रयासमा प्राध्यापक, कर्मचारीको क्षमता विकासको काम गर्नुपर्नेमा पनि उहाँले जोेड दिनुभएको छ ।
पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष घनश्याम घिमिरेले क्याम्पस प्रशासकको भूमिकाअनुसार नै प्राध्यापक संघले सम्पूर्ण प्राध्यापकको साथ र सहयोगलाई सुनिश्चित गर्ने बताउनुभयो । प्राध्यापक संघले संकायगत सुझाव संकलन गरिरहेको र उक्त सुझावलाई क्याम्पस सञ्चालक र प्रशासकलाई बुझाउने बताउनुभयो । प्राध्यापकको सुुझावलाई क्याम्पस सञ्चालक र प्रशासकले मार्गदर्शकको रुपमा उपयोग गर्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । २०३७ सालमा स्थापना भएको मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११, १२ सँगै स्नातक र स्नात्तकोत्तर तहको पठनपाठन भइरहेको छ । मकवानपुर बहुमुखी क्याम्पसमा ६ हजार विद्यार्थी अध्ययनरत छन् ।
नवनियुक्त क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाललाई स्वागत, सम्मान गरिँदै ।