विकेट लिएपछि उत्साहित हुँदै रिजन ढकाल ।

हेटौँडाः काठमाडौं कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको एकदिवसीय क्रिकेटमा नेपालले मध्यम लक्ष्य पाएको छ । नेपालले टस जितेर पहिले आयरल्याण्डलाई व्याटिङको निम्तो दिएको थियो । आयरल्याण्डले ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७४ रन जोडेको छ ।

आयरल्याण्डलाई मध्यम स्कोरमा समेट्ने क्रममा मकवानपुरका रिजन ढकालले ३ विकेट लिएका छन् । रिजनले आयरल्याण्डका पिटर मोर, गाभिन होइ र थोमस मायसलाई आउट गरे । आयरल्याण्डका लागि ५० रनको योगदान गरेका गाभिन होइसँगै १७ रन जोडेका पिटर मोर र ५ रन बनाएका थोमस मायसलाई आउट गरेका हुन् ।

८ ओभर बलिङ गर्दै रिजनले ३० रन खर्चेका थिए । नेपालका लागि साहिद आलमले ३ विकेट लिँदा मौसम ढकालले २ र कमल ऐरीले १ विकेट लिएका थिए । अहिले नेपाल जवाफी व्याटिङ गरिरहेको छ ।