नयाँ समिति चयनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको अध्यक्षमा विजय कुमार वैद्य चयन हुनुभएको छ । शनिबार भएको प्रतिष्ठानको १८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनले वैद्यको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा ध्रुव भुजेल, सचिवमा प्रल्हाद घिमिरे, सहसचिवमा अर्जुन प्रसाद वाग्ले, कोषाध्यक्षमा अनिता न्यौपाने र सहकोषाध्यक्षमा निर्मला अधिकारी चयन भएका छन् ।

यस्तै सदस्यमा सानुकाजी पाण्डे, रित बहादुर खाती, प्रतिमा र सीता मोक्तान चयन भएका छन् । कार्यसमितिबाट द्वितीय उपाध्यक्षमा मनोनित हुने सदस्यको केही कारणले उपस्थिति नभएकोले द्वितीय उपाध्यक्षको पद रिक्त रहेको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको हुनेछ । प्रतिष्ठानका निवर्तमान अध्यक्ष हरिवंश भेटुवालको सभाध्यक्षमा तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रमको उद्घाटन गनुहुँदै सामाजिक विकास मन्त्री मोक्तानले बागमती प्रदेशको राजधानी हेटौंडा भएपछि हेटौँडा अस्पतालमा सकारात्मक परिवर्तन आएको बताउनुभएको छ । बागमती प्रदेश सरकारले ३ सय सैय्या भएको अस्पताल बनाउने कुरालाई अगाडि बढाउन लागेको उहाँले बताउनुभयो । मुटु रोगका लागि अस्पताल बनाउने कार्यको पहल गरिने उहाँको भनाई छ । मुटुमा असर पर्नाले मानिसहरुको अकालमा मृत्य हुने गरेको बताउनुहुँदै मुटुमा असर गर्न नदिन खानपान, विचार र व्यवहार शुद्ध राख्नुपर्ने उहाँले दावी गर्नुभएको छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।

नेपाल हृदयरोग निवारण संस्था थाहा नगरपालिकाकी गीता कार्कीले मुटुमा रोग लागेको मानिसहरुसँग पैसा नभएको कारणले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष स्वागत राज प्याकुरेलले मनहरी मुटु रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताउनुभयो । सन् १९९० मुटु रोग सम्बन्धी उल्लेखनीय तथ्याङ्क रहेको बताउनुहुँदै २९ वर्षको अन्तरालमा मुटुरोगी बढ्दै गएको उहाँले बताउनुभयो ।