जुडो संघ बागमती प्रदेशको नयाँ समिति गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः बागमती प्रदेश जुडो संघको अध्यक्षमा मकवानपुरका मदन उप्रेती सर्वसम्मत चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले उप्रेतीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । संघको उपाध्यक्षमा नुवकोटबाट राधिका देवी पौडेल र रामेछापबाट लाल बहादुर थापा मगर, सचिवमा काठमाडौँबाट राजिव प्रधान र कोषाध्यक्षमा काभ्रेबाट दीवा कास्यत चयन हुनुभएको छ ।

यस्तै सदस्यमा धादिङबाट स्वागत सिलवाल, ललितपुरबाट पुजा रेग्मी महत, काभ्रेबाट सौरवराज कास्यत, भक्तपुरबाट राजाराम वासी, रसुवाबाट राजाराम डंगोल र काठमाडौंबाट आकृति जोशी चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको हुनेछ । मकवानपुर जिल्ला जुडो संघका अध्यक्ष सविन मोक्तानको सभाध्यक्षमा तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन भएको हो । कार्यक्रमलाई सम्बोधन गनुहुँदै सदस्य–सचिव भण्डारीले नेपालमा जुडो खेलको विकास गर्नका लागि प्रशिक्षकको नियुक्त गरेको बताउनुभएको छ ।

बागमती प्रदेशलाई जुडो खेलमा उत्कृष्ट बनाउनका लागि खेल सामग्री सहयोग र हल निर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । खेलाडीहरुलाई मध्यनजर गरेर खेलको विकास लागि सहयोग गर्ने उहाँको भनाई छ । संघको नवनिर्वाचित अध्यक्ष उप्रेतीले अध्यक्ष पदमा नियुक्त भएसँगै १३ वटा जिल्लाको जुडो खेलाडीहरुलाई समेटेर प्रदेशकै उत्कृष्ट बनाउन कार्यमा लाग्ने उहाँले बताउनुभयो । प्रदेश सरकारसँग सहयोगका लागि हातेमाले गर्ने बताउनुभयो ।

खेलाडीहरुको मुल्याङ्कन गरेरे मात्र मौका दिने गरेकोमा चिन्ता व्यक्त गर्नुहुँदै अब खेलाडीहरुलाई विभिन्न प्रकारको प्रतियोगिताहरुमा सहभागी गराउने उहाँको भनाई छ । खेलको विकास गर्न प्रदेश सरकारको माध्यमबाट खेलकुद विकास परिषदका सदस्यसचिव सूर्यलाल भण्डारीले धेरै पहल गरिरहेको बताउनुभयो । सदस्य–सचिव भण्डारीले गरेको कामहरुको मध्यनजर गरेर जुडो खेलका लागि पनि सहयोगको अपेक्षा गरेको उहाँको भनाई छ ।