हेटौँडाः बागमती प्रदेशको दुईवटा जिल्लामा बालक र वृद्ध मृत फेला परेका छन् । प्रदेशको दोलखा जिल्लामा एक जना बालक र चितवन जिल्लामा एक जना वृद्ध मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–१, बोहोरागाउँमा एक जना बालक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा श्यामबहादुर तामाङको ३ वर्षीय छोरा समीर तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । आइतबार बिहान ८ बजेर ३० मिनेटको समयमा बालक ओछ्यानमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । शव मुचुल्कापश्चात् पोष्टमार्टमका लागि आफन्तले बुझी लगेको प्रहरीले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, चौबीसकोटी एरयपोर्ट गेटमा एकजना पुरुषको शव फेला परेको छ । आइतबार नामथर नखुलेको अन्दाजी ६५ वर्षीय पुरुष व्यक्ति बाटोमा बिरामी अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई उद्दार गरी उपचारका लागि भरतपुर अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।