हेटौंडाः हेटौंडा उपमहानगरपलिका १ नम्बर वडा कार्यालयमा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तर्जुमा सम्बन्धमा छलफल भएको छ । छलफलका क्रममा सहभागी वडा बासीहरुले खानेपानीकै अभाव भएको गुनासो गरेका छन् ।
बुधबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपानेको सभाध्यक्षतामा छलफल कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, वडाका राजनीतिक दलहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समिति अध्यक्षहरु, वडाका टोल विकास संस्थाका अध्यक्षहरु, वडाका विभिन्न संघसंस्था तथा सहकारीका अध्यक्षहरु, वडा बाल सञ्जालका अध्यक्ष तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनबमोजिम प्रत्येक वर्ष असार १० गतेभित्र स्वीकृतिको लागि वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरी नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । उक्त कानुनी व्यवस्थाबमोजिम बजेट तयारीको सम्बन्धमा वडाको दैनिक कार्य सञ्चालन, नियमन, नियन्त्रण, योजना तर्जुमा, प्राथमिकता निर्धारण, कार्यान्वयन र अनुगमन सम्बन्धी विविध विषयमा नगर प्रमुखसहितको टोलीको उपस्थितिमा वडास्तरीय भेला गरी आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले छलफल कार्यक्रमको आयोजना भएको हो ।
छलफलका सहभागी वडाबासीले खानेपानीको अभाव रहेको बताएका छन् । साविक हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर वडा १ र साविक बसामाडी गाविसको वडा नम्बर ८ र ९ मिलेर अहिलेको वडा नम्बर १ बनेको हो । वडाको कुल क्षेत्रफल १४.८६ वर्ग किलोमिटर रहेकोमा अधिकांश भागहरु ग्रामीण क्षेत्रमा छन् । ग्रामीण भू–भागमा भौगोलिक विकटताको कारण खानेपानीको अभाव रहेको छ । ८ हजार ३ सय ६६ जनसंख्या रहेको वडामा ३ हजार जनाभन्दा बढी मानिसले सहजरुपमा खानेपानी सुविधा पाएका छैनन् ।
हेटौंडा बजारबाट नजिकै रहेको भैरब डाँडामा समेत उपमहानगरपालिकाले ट्याङ्करबाट पानी लगेर वितरण गर्दै आएको छ । वडाको बजार क्षेत्रबाहेक अन्य सबै स्थानमा खानेपानीकै अभाव रहेको वडाबासीको भनाइ छ । खानेपानी समस्या समाधानका लागि ठूलो योजना नै आवश्यक पर्ने भएकाले संघीय सरकारबाट योजना परेको र योजनाका कामहरु पूरा नहुनाले खानेपानीको अभाव रहेको बताइएको छ ।
छलफलको क्रममा कालिका आधारभूत विद्यालय नकौलीका प्रधानाध्यापक बैकुण्ठ पराजुलीले विद्यालयलाई मावि तहसम्म सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । विद्यालयलाई बालमैत्री घोषणा गर्नुपर्ने भन्दै विद्यालयको भौतिक सुधार र शिक्षक दरबन्दी थप गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । छलफलमा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयको भौतिक संरचनाको सुधार, विद्यालयमा आवश्यक प्राविधिक वस्तुको अभाव रहेकाले बजेटमा समावेश गराउन आग्रह गरेका थिए ।
वडाका टोल विकास संस्थाका प्रतिनिधिहरुले आफ्नो टोलमा ढलको व्यवस्थापन गर्नुपर्ने, साँघुरा सडकहरुलाई विस्तार गर्नुपर्ने र वडा कार्यालयमा सभाहल निर्माण गर्न आवश्यक रहेको बताएका थिए । छलफलमा अधिकांश ग्रामीण भेगका विद्यालय र टोलहरुमा खानेपानीको नै समस्या रहेको र आगामी बजेटमा उपमहानगरपालिकाले वृहत् योजना समावेश गराउनुपर्नेमा जोड दिइएको थियो ।
छलफलमा वडा बाल सहजकर्ता कृष्टिना मैनालीले विद्यालय छाडेका बालबालिकाहरुका लागि सिपमूलक तालिमको आवश्यकता रहेकोमा जोड दिनुभयो । खुला दिसापिसाबमुक्त क्षेत्र घोषणा भएता पनि १ नम्बर वडाको माथिल्लो भेगमा शौचालय नै नभएकाले त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । यस्तै, नकौली स्वास्थ्य चौकीकी पार्वती पौडेलले एक जनाले मात्र स्वास्थ्य चौकी चलाउनुपर्ने बाध्यता रहेकाले एक जना अहेव आवश्यक रहेको बताउनुभयो । ड्रेसिङ गर्ने सामग्रीसमेत पर्याप्त नभएकाले उपमहानगरले आगामी वर्षको बजेटमा समाबेश गराएर व्यावस्थापन गर्नुपर्ने माग राख्नुभयो ।
छलफलको क्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले हरेक टोलटोलमा रहेको समस्या बुझ्न स्थानीय तहले छलफल कार्यक्रमको आयोजना गरेको बताउँदै स्थानीय तहमा धेरै समस्या रहेको र केहीमात्र समस्या समाधान भएको बताउनुभयो । नगरले यसपटक खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गर्ने उहाँले आश्वासन दिनुभयो ।
यस्तै, नगर उपप्रमुख बानियाँले जनताको आवश्यकताअनुसार वडागत आवश्यकताको आधारमा नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष न्यौपानेले विगतका दिनमा स्थानीय तहहरुले विकासको रेखा कोर्ने काम गरेको बताउँदै आगामी दिनमा विकास हुँदै जानेमा जोड दिनुभयो । बुधबार एक सूचना जारी गर्दै हेटौंडा उपमहनगरपालिका ४ नम्बर वडा कार्यालयले चैत १६ गतेका लागि आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तर्जुमा सम्बन्धमा छलफल गर्ने जानकारी दिएको छ ।