हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १५ नम्बर वडा खेलकुलद विकास समितिको आयोजनामा जारी अन्तरवडास्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगितको सेमिफाइनलमा वडा नम्बर ७ र वडा नम्बर १२ प्रवेश गरेको छ । बुधबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको क्वार्टरफाइनल खेलमा वडा नम्बर १७ लाई ४–१ गोल अन्तरले हराउँदै वडा नम्बर ७ र वडा नम्बर ५ लाई २–० गोल अन्तरले हराउँदै वडा नम्बर १२ सेमिफाइनलमा प्रवेश गरेको हो ।

वडा–७ को जितमा सुशान तामाङले २ गोल गरेका हुन् । यस्तै, सुजन श्रेष्ठ र विवेश थापाले समान १–१ गोल गरे । यता वडा–१७ का कुशल अधिकारीले मात्र १ गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ द म्याच वडा–७ का सुशान तामाङ घोषित हुँदै १ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, वडा–१२ को जितमा दुुबै गोल साजन पाख्रिनले गरेका हुन् । खेलको म्यान अफ द म्याच गोल कर्ता पाख्रिन घोषित भएका छन् । प्रतियोगिताअन्तर्गत् आज बिहीबार पहिलो खेलमा हेटौंडा–१५ र हेटौंडा–१९ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौंडा–८ र हेटौंडा–१४ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फको उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ । प्रतियोगिता आयोजनाका लागि करिब ११ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुुमान छ ।