धर्ना तथा प्रदर्शनका क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५ स्थित केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र हेटौंडामा कर्मचारी निकालेको भन्दै धर्ना तथा प्रदर्शन भएको छ । केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्रका कर्मचारी मनिसा पुरी बुढाथोकीलाई बिना सूचना निष्कासन गरेको विरुद्धमा पुनर्वहालीको माग गर्दै धर्ना दिइएको हो ।

मकवानपुर जिल्लामा रहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवम् संरक्षण केन्द्र हेटौंडामा विगत आठ वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्य गर्दै आइरहेकी बुढाथोकीले बताउनुभयो । ‘बिना सूचना यही चैत ४ गते गेट रोक्का गरी रोजगारीबाट निकालियो’, बुढाथोकीले भन्नुभयो– ‘केन्द्रमा दरबन्दीभन्दा बढी कर्मचारी भर्ती गर्ने र कर्मचारी धेरै भयो भनेर तलब आधा गर्ने वा आफूखुसी रोजगारबाट हटाउने कार्य भइरहेको छ ।’ केन्द्र प्रमुख सरोज यादवले प्रतिष्ठानको आन्तरिक कुरा बाहिर लान नपाउने, आधा तलबमा काम गर्नुपर्ने, जबर्जस्ती सहमति गर्नुपर्ने, नत्र रोजगारबाट बिमुख हुनुपर्ने दबाव दिएको उहाँको दावी छ । केन्द्र प्रमुखको प्रस्तावको विपक्षमा हुँदा रोजगारबाट आफूलाई निकालिएको बुढाथोकीको भनाइ छ ।

यता मत्स्य प्रवर्धन एवम् संरक्षण केन्द्र हेटौंडाका प्रमुख यादवले बुढाथोकीले लगाएको आरोप झुटो भएको बताउनुभएको छ । समृद्ध समाजसँग कुराकानी गर्दै यादवले भन्नुभयो, ‘म यस कार्यालयमा आउनुभन्दा पहिले नै उहाँलाई अफिसका विभिन्न कुरा बाहिर लैजाने, कार्यालयमा काम गर्ने कर्मचारीलाई विभिन्न आरोप पत्यारोप लगाउनेजस्ता कार्य गरेकाले हटाइएको रहेछ ।’ आफू कार्यालयमा आएपछि विभिन्न राजनैतिक दबाबका कारण बिगतका कुरा दोहोरिएमा जागिरमा राख्न नसक्ने भन्दै काममा राखेकोमा अहिले विभिन्न व्यक्तिले उचालेको भरमा आन्दोलन गरेर कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेको उहाँले बताउनुभयो ।

केन्द्र प्रमुख यादवले भन्नुभयो– ‘बुढाथोकी करारमा कार्यरत हुनुहुन्छ । करार सम्झौताका लागि बोलाउँदा उहाँ आउनुभएन । तर, राजनैतिक दलको व्यक्तिले उचालेको भरमा उहाँले आन्दोलन गर्नुभएको छ ।’ बुढाथोकीका बारेमा कार्यालयका अन्य कर्मचारीसमेत असन्तुष्ट हुँदाहुँदै आफूले एक पटक सुध्रने मौका दिएकोमा उल्टै बिभिन्न आरोप पत्यारोप लगाउने कार्य गरेको यादवले बताउनुभयो । प्रमुख यादवले भन्नुभयो, ‘मलाई केही राजनैतिक दलका भन्ने व्यक्तिले पटक–पटक धम्क्याएर पैसासमेत माग्ने गरेका छन् । म पत्रकार सम्मेलन नै गरेर यस विषयमा जानकारी गराउनेछु ।’