बेतिनी स्वास्थ्य चौकीमा जन्मिएको शिशुको तस्वीर ।

हेटौँडाः मकवानपुरको बागमती गाउँपालिकास्थित बेतिनी स्वास्थ्य चौकीमा एक महिलाले ५ केजीको बच्चालाई जन्म दिएकी छन् । बागमती–९ स्थित देउजोरकी ३० वर्षीया प्रमिला जिम्बाले बुधबार बिहान १२ बजेर ४५ मिनेटको समयमा ५ केजी तौल भएको शिशु (छोरा)लाई जन्म दिएको स्वास्थ्य चौकीकी अनमी बिमला राईले जानकारी दिनुभयो ।

जिम्बाले चौथो सन्तानको रुपमा ५ केजीको छोरालाई जन्म दिएकी हुन् । ४ केजीभन्दा बढी तौल भएमा शल्यक्रिया गर्नुपर्ने मापदण्ड रहेपनि जिम्बाले साधारण रुपमा छोरालाई जन्म दिएकी छन् । अनमी राईका अनुसार अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य नै छ । जिम्बाले यसअघिका तीन वटै सन्तानलाई घरमै जन्म दिएकी थिइन् । जिम्बाका यसअघिका बच्चाहरु पनि उत्रै तौलका जन्मिएको बुझिएको छ । अनमी राईका अनुसार वंशानुगत गुण, पोषणका कारण र मधुमेहका कारण तौल बढी हुन सक्छ । तर जिम्बामा मधुमेह पनि नभेटिएको उहाँले बताउनुभयो । अनमी राईले भन्नुभयो ‘उहाँ अहिले स्वास्थ्य चौकीमा नै उपचारत हुनुहुन्छ, घर जान्छु भन्दै हुनुहुन्छ तर हामीले २४ घण्टा नपुगी घर पठाउन मिल्दैन । उहाँको आर्थिक अवस्थामा पनि कमजोर रहेको पाइएको छ । विशेष ख्याल गर्न आवश्यक छ । ’