हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–४ स्थित महेन्द्र माविको प्रधानाध्यापकमा देवकी सिग्देल नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निमावि तहकी शिक्षक सिग्देललाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गौतमले स्थायी शिक्षक मध्ये वरिष्ठ तहको शिक्षकको रुपमा रहनुभएकी सिग्देललाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरिएको जानकारी दिनुभयो ।
सिग्देल बकैया गाउँपालिकाकै मावि तहको पहिलो महिला प्रधानाध्यापक समेत बन्नुभएको छ । यसअघिका प्रधानाध्यापक दुर्गा पराजुली सरुवा हुनुभएपछि प्रधानाध्यापक पद रिक्त रहेको थियो । यसअघि अंग्रेजी माध्यमको संयोजक शिक्षकको रुपमा रहनुभएकी सिग्देलले प्रधानाध्यापकको रुपमा विद्यालयमा प्रणाली स्थापित गर्ने गरी काम गर्ने योजना रहेको बताउनुभएको छ ।
निजी विद्यालयमा पनि पढाएको अनुभव रहेको उल्लेख गर्नुहुँदै सिग्देलले भन्नुभयो, “प्रधानाध्यापक भएपछि पहिलो प्राथमिकता विद्यालयमा प्रणाली स्थापित गर्नु हुनेछ । विद्यालयमा प्रणाली स्थापित गर्न सक्यौं भने जो प्रधानाध्यापक भए पनि विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त हुने सुनिश्चित हुन्छ । मेरो प्राथमिकता विद्यालयलाई प्रणालीमा स्थापित गर्नुहुनेछ ।” अंग्रेजी माध्यम संयोजकको रुपमा काम गर्ने क्रममा प्रशासकीय भूमिका पनि नियाल्न पाएको उहाँको भनाइ छ । अहिलेसम्मको भूमिकामा सकारात्मक प्रतिक्रिया पाएकोले प्रधानाध्यापकको जिम्मेवारी पनि राम्रोसँग पूरा गर्ने सिग्देल विश्वास व्यक्त गर्नुहुन्छ ।
विद्यार्थीको पढाइको स्तर खस्केको र शिक्षाको स्तर सुधार गर्न अभिभावक शिक्षामा जोड दिने उहाँले बताउनुभएको छ । पालिकाका विद्यालय मध्ये राम्रो शिक्षकको टिम रहेको विद्यालयको रुपमा महेन्द्र मावि रहेको दावी गर्नुहुँदै सिग्देलले विद्यालयका ३७ जना शिक्षक मध्ये अधिकांश युवा शिक्षक रहनुभएकोले सबैको साथ र सहयोगमा राम्रो गर्ने अवसर रहेको बताउनुभयो । विद्यालयप्रति समुदायको चासो कम हुनु आफ्ना लागि चुनौतिको विषय भएको उहाँको भनाइ छ ।
२०६४ सालमा हेटौँडा–६, चौघडास्थित बंशगोपाल माविबाट एसएसलसी उत्तीर्ण गर्नुभएकी सिग्देलले हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टबाट कक्षा १२, बंशगोपाल बहुमुखी क्याम्पसबाट स्नातक र हेटौँडा क्याम्पसबाट २०७९ मा स्नात्तकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । २०६७ सालदेखि ७२ कात्तिकसम्म हेटौँडा–६, चौघडास्थित सुनगाभा शिक्षा निकेतनबाट शिक्षण सेवा गर्नुभएकी सिग्देलले २०७२ मंसिरदेखि २०७४ जेठसम्म हेटौँडा–५ स्थित जिएस निकेतनमा शिक्षण गर्नुभयो । सिग्देलले २०७४ साल असार २३ गतेदेखि बारा जिल्लाको आदर्श कोटुवाल गाउँपालिका–१ स्थित श्रीरामचरित्र माविबाट निमावि तहको स्थायी शिक्षकको सेवा सुरु गर्नुभएको थियो ।
सिग्देल २०७५ साल पुस ५ गतेदेखि महेन्द्र माविमा सरुवा भएर आउनुभएको हो । १२ कक्षासम्म पठनपाठन हुने महेन्द्र माविमा इलेक्ट्रिकल इन्जिनियरिङ (९–१२) पनि सञ्चालनमा रहेको छ । विद्यालयमा सात सय ८० विद्यार्थी अध्ययनरत छन् ।