गुगल तस्विर ।

हेटौँडाः विभिन्न घटनामा एकै दिन ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको नुवाकोट, चितवन र सिन्धुलीमा एकै दिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–१, लच्याङजोङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय जित बहादुर तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । आइतबार तामाङ आफ्नै घरदेखि ३ सय ५० मिटर उत्तर पर्ने आफ्नै बारीमा रहेको सिरिसको रुखको हाँगामा राखिएको कोदोको नल निकाल्ने क्रममा रुखको हाँगा भाँचिन गई रुखबाट खस्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका–१२, सालघारीमा एकजना मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा गोरखा जिल्ला सिरानचोक घर भई हाल सालघारी बस्दै आएकी ८४ वर्षीया मन कुमारी पोख्रेल रहेको प्रहरीले जानकारी दिएको छ । ४२ वर्षदेखि जिरौनास्थित कृष्ण मन्दिरको आश्रममा बस्दै आएकी र मानसिक अवस्था ठिक नभएको पोख्रेल आइतबार बिहान ८ बजेको समयमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१, तीनतले पाखामा रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–५, सिलामे बस्ने ३२ वर्षीय लोकनारायण श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार घागरठाकुर सामुदायिक वनमा वनको ठेक्का लागेको चिलाउने रुख काट्ने क्रममा रुखको हाँगा उछिट्टिएर श्रेष्ठको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।