नेपालमा वन डढेलो जटिल समस्या बन्ने गरेको छ । फागुन र चैत महिना डढेलेको लागि जोखिमपूर्ण मानिन्छ । गर्मी बढ्दै जाने, पानी नपरेर जमिन सुख्खा हुने, हावाहुरी चल्ने, विरुवाका पात झर्ने कारण यस समयमा वन डढेलोको प्रकोप व्यापक बन्ने गरेको छ । वन डढेलोमात्र नभई यसबेला आगलागीका घटना पनि अन्य समयभन्दा बढी हुने गरेको छ । फागुन, चैत महिनामा वन डढे लोको समस्या विकराल बन्ने गरेका कारण वन डढेलोसम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै डढेलो नियन्त्रणका विशेष अभ्यास र तयारी गर्ने गरिएको छ । यस वर्ष पनि डिभिजन वन कार्यालय मकवानपुरले वन डढेलोविरुद्ध सचेतनामूलक सप्ताह सुरु गरेको छ । वन डढेलो र यसले पार्ने असर न्यूनीकरणका लागि यस्ता सचेतनामूलक कार्यक्रम उपयोगी हुन्छन् । तर, सिमित क्षेत्र र समयमा गरिने यस्ता कार्यक्रम पूर्ण प्रभावकारी भने बन्न सकिरहेको पाइँदैन ।
वन डढेलो लाग्न नदिन र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन सुरु गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् डिभिजन वन कार्यालयले ४० वटा डढेलो नियन्त्रण सञ्जाल गठन गरेको छ । डिभिजनको कार्यक्षेत्रका ३ देखि ५ वटा सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा डढेलो नियन्त्रण सञ्जाल गरिएको हो । यस्ता सञ्जालले सामुदायिक वनसँगको समन्वयमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनमा सहयोग गर्नेछन् । वन डढेलो नियन्त्रणका लागि हरित स्वयम्सेवक परिचालनसमेत गरिएको छ । डिभिजन र मातहतका सव डिभिजनमार्फत् वन डढेलो सचेतनामूलक र्याली, माइकिङ, स्कूल कार्यक्रम, रेडियो तथा पत्रपत्रिकामार्फत् सचेतना सामग्री प्रसारण र प्रकाशनका कार्यहरु पनि सञ्चालन गरिएका छन् । वन डढेलो नियन्त्रणका लागि विभिन्न वन क्षेत्रमा अग्निरेखा निर्माण तथा मर्मत गरिएका छन् । वन क्षेत्रको झाडी सफाई गर्नुका साथै सम्भावित ज्वलनशील पदार्थहरु हटाउने कार्य पनि भइरहेका छन् । मकवानपुरका सबै सामुदायिक वनहरुमा प्रतिकात्मक डढेलो तथा नियन्त्रित वन डढेलोमार्फत् वन डढेलो जोखिम कम गर्ने कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
वन क्षेत्रमा डढेलो लाग्ने वा लगाउने विभिन्न कारणहरु छन् । सामान्यतयाः वन डढेलोको मुख्य तीनवटा कारण रहेका छन् । मानवीय असावधानीका कारण डढेलो सल्कने, प्राकृतिक कारणबाट डढेलो लाग्ने र मानिसले जानीजानी डढेलो लगाउने गर्दछन् । वन क्षेत्रमा प्रवेश गर्ने मानिसले चुरोट खाएर जथाभावी चुरोटको ठुटो फ्याँक्ने, वनभोज खाएपछि चुल्होको आगो ननिभाई हिँड्ने, वन क्षेत्र नजिक आगो बाल्नेजस्ता मानवीय लापरबाहीले वन डढेलो लाग्ने गर्दछ । यस्तै, चट्याङ पर्ने, हावाहुरी चल्दा विभिन्न वस्तुमा घर्षण भई आगो सल्कने, वन क्षेत्रमा रहेका विद्युतीय तारहरु सर्ट हुनेजस्ता प्राकृतिक कारण वन डढेलो लाग्ने गर्दछ । घाँस उमार्न, वन्यजन्तु तस्करी गर्न तथा वनजंगलका काठहरु तस्करी गर्नका लागि मानिसले जानीजानी पनि वन क्षेत्रमा डढेलो लगाउने गरेको पाइन्छ । कतिपय मानिसले ख्यालख्यालमै र माइलोका लागि वनमा डढेलो लगाउनेसमेत गर्दछन् ।
वन डढेलोको समस्या मकवानपुर जिल्लामा पनि व्यापक हुने गर्दछ । वन डढेलोका कारण वन क्षेत्र वरपरका बस्तीसमेत आगलागीको उच्च जोखिममा पर्ने गरेका छन् । डढेलोका कारण वनमा रहेका विरुवा तथा जीवजन्तु मर्ने र वातावरणमा नकारात्मक प्रभाव पर्ने गर्दछ । डढेलो लागेपछि नियन्त्रण गर्न गाह्रो हुने भएकाले डढेलो लाग्नै नदिन पर्याप्त सचेतना दिनुपर्ने देखिन्छ । वन तथा वातावरणसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायले डढेलो नियन्त्रणका लागि केही प्रयत्न गर्दै आएका भए पनि त्यो पर्याप्त देखिँदैन । वन डढेलो र आगलागी हुन नदिन सबै क्षेत्रमा पर्याप्त सचेतनामूलक कार्यक्रम गर्नुपर्छ । डढेलो लागिहालेको अवस्थामा त्यसको नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउनुका साथै डढेलो लाग्नै नदिन जनसमुदायमा सचेतना फैलाउनु आवश्यक छ ।