हेटौँडाः बागमती प्रदेशभित्रका तीन जिल्लामा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, दोलखा र चितवनमा फरक–फरक घटनामा तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
आइतबार बिहान २ बजेको समयमा चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६, जलबिरेमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडकखण्डमा रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बसले रोकी राखेको ना ६ ख ३५८० नम्बरको ट्रकलाई ठक्कर दिँदा बसमा सवार पाँच जना घाइते भएका थिए । घाइतेमध्ये बसमा सवार भारतको मोतिहारी जिल्ला चम्पारणका ३७ वर्षीय गौरी दासको भने उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ । घाइते चारजनाको चितवनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै सिन्धुपाल्चोकको पाँचपोखरीमा थाङपाल गाउँपालिका–६ मा भीरबाट लडेर घाइते भएका एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा सोही ठाउँकी ५५ वर्षीया पेमा तामाङ लामा गोरु चराउन तथा घाँस काटन जंगल गएकोमा भीरबाट लडेकी थिइन् । अबेरसम्म पनि लामा घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा राति ९ बजेको समयमा घरबाट एक किलोमिटर पर भीरबाट लडेर गम्भीर घाइते अवस्थामा पेमा फेला परेकी थिइन् । घाइते लामालाई उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो । सामान्य उपचार पश्चात थप उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल काठमाडांैमा लगिएकोमा उपचारको क्रममा शनिबार बिहान डाक्टरले लामालाई मृत घोषणा गरेको हो ।
यस्तै शनिबार दोलखा जिल्लामा श्वास फेर्न गाह्रो भएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका–२ का ६६ वर्षीय रण बहादुर थामी रहेका छन् । श्वास फेर्न गाह्रो भएर उपचारका लागि बिहान सामुदायिक रोल्वालिङ अस्पताल सिंगटीमा लगिएकोमा उपचार पश्चात डिस्चार्ज भएर घर फर्किएका थामीको बेलुका ५ बजे मृत्यु भएको हो । विगु गाउँपालिका–८ कोप्लाङस्थितमा रहेको कालिन्चोक हाईड्रोपावरको पाईप लाईन बिछ्याउनका लागि खनिरहेको पहाडबाट निस्केको धुलोको कारणले थामीको मृत्यु भएको भन्दै स्थानीहरुले क्षतिपूर्ति माग गरेका थिए । शवलाई आइतबार बिहान चरिकोट अस्पतालमा राखिएको छ ।