चैत महिना सुरु भएसँगै विद्यालय तहको विभिन्न कक्षाको वार्षिक परीक्षा सुरु भएको छ । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयमा शुक्रबारबाट परीक्षा सुरु भएको हो । आगामी चैत १५ गतेदेखि एसईई परीक्षा रहेको र त्यसअघि होली पर्व परेका कारण विद्यालयहरुले चैत २ गतेदेखि नै परीक्षा सुरु गरेका हुन् । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडामा आवद्ध विद्यालयहरुमा परीक्षा सुरु भएको हो । हेटौंडा उपमहानगरभित्रका ७३ सामुदायिक विद्यालयमध्ये नगर स्तरीय शैक्षिक समन्वय समितिको तालिकाअनुसार ५८ वटा विद्यालयमा परीक्षा सुरु भएको छ । विद्यालयहरुले कक्षा ५ सम्मको परीक्षा विहान १०ः३० बजेदेखि र कक्षा ६, ७ र ९ को परीक्षा दिउँसो १ः०० बजेदेखि सञ्चालन गरेका छन् । यी कक्षाहरुको परीक्षा चैत ९ गते सकिनेछ । हेटौंडा उपमहानगरपालिकाले कक्षा ८ को परीक्षा आज चैत ४ गतेबाट सञ्चालन गर्दैछ ।
चैत र बैशाख विद्यालय तहको सबैजसो कक्षाहरुको वार्षिक परीक्षाको महिना हो । केही हिमाली जिल्लाबाहेक देशका सबै क्षेत्रका विद्यालयको कक्षा १२ सम्मको वार्षिक परीक्षा यही समयमा हुने गर्दछ । आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सम्बन्धित स्थानीय तहले सञ्चालन गर्ने गर्दछन् भने कक्षा १० को एसईई र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दछ । अन्य कक्षाको परीक्षा भने सम्बन्धित विद्यालयहरुले नै लिने गर्दछन् । नेपालमा विद्यार्थी मूल्यांकनको एकमात्र विधिको रुपमा परीक्षालाई लिइन्छ । विद्यार्थीको निर्माणात्मक मूल्यांकनका लागि एकाइ, मासिक, त्रैमासिक, अर्धवार्षिक आदि आवधिक परीक्षा सञ्चालन गरिन्छ भने निर्णयात्मक परीक्षाको रुपमा वार्षिक परीक्षा सञ्चालन गर्ने गरिन्छ । वार्षिक परीक्षाको रुपमा सबै कक्षामा सैद्धान्तिक परीक्षा लिइन्छ, जसमा विद्यार्थीले निश्चित समयभित्र सोधिएका प्रश्नहरुको उत्तर लेखेर न्यूनतम उत्तीर्ण अंक हासिल गरेपछि माथिल्लो कक्षामा पुग्नेछन् । शैक्षिक सत्रको अन्त्यमा लिइने वार्षिक परीक्षाबाटै विद्यार्थीको पास÷फेल निर्धारण हुने भएकाले यो परीक्षा अन्य आवधिक परीक्षाभन्दा विशेष महत्वको हुने गर्दछ ।
विद्यार्थीका लागि सबै किसिमको परीक्षाको कुनै न कुनै महत्व हुन्छ र हुनुपर्छ । यसकारण विद्यार्थीले आफ्नो नियमिति पठनपाठनसँगै परीक्षाको लागि तयारी पनि गर्दै जानु उचित हुनेछ । वर्षैभरि एकनाशसँग अध्ययन कार्य गर्ने विद्यार्थीको तुलनामा परीक्षाको कार्यक्रम सार्वजनिक भएपछि पढाइको चिन्ता गर्ने विद्यार्थीले परीक्षामा राम्रो नतिजा ल्याउने सम्भावना कम हुन्छ । हुन त अधिकांश विद्यालय एवम् अभिभावकले पनि वार्षिक परीक्षा नजिकिँदै गएपछि विद्यार्थीलाई परीक्षाको तयारीमा बढी जोड दिएर अतिरिक्त कक्षाको व्यवस्थापन गर्ने गरेका छन् । वार्षिक परीक्षाअगाडि विद्यार्थीलाई कठिन लाग्ने विषयहरुको विशेष तयारीका लागि ट्युशन-कोचिङ कक्षाको व्यवस्थापन गरिन्छन् । यसले परीक्षा नजिकिएपछि विद्यार्थीमा पनि एक किसिमको मनोवैज्ञानिक डर पैदा गर्छ र विद्यार्थी परीक्षाप्रति बढी गम्भीर बन्ने गर्दछन् ।
अन्य समयमा लिइने निर्माणात्मक परीक्षाभन्दा शैक्षिक सत्रको अन्त्यमा लिइने निर्णयात्मक परीक्षाको महत्व बढी हुन्छ, किनकि यो परीक्षा दिएर उत्तीर्ण भएपछि मात्र विद्यार्थीे माथिल्लो कक्षामा पढ्न पाउँछन् । यसले वार्षिक परीक्षाको समयमा विद्यार्थी पठनपाठनको बारेमा बढी चिन्तित हुने गर्दछन् । विद्यार्थीको सिकाईको अवस्था मापन गर्न परीक्षा लिने भएकाले प्रत्येक विद्यार्थीले परीक्षालाई एउटा स्वभाविक र नियमित प्रक्रियाको रुपमा लिनु आवश्यक हुन्छ । परीक्षा भन्नेवित्तिकै आत्तिने गर्नुहुँदैन । परीक्षाको बारेमा अनावश्यक डर, त्रास पनि लिनु हुँदैन । परीक्षालाई सामान्य प्रक्रिया ठान्दै आफूले पढेका विषयवस्तुको सृजनात्मक तरिकाले उत्तर दिएर आफ्नो सिकाइको स्तर प्रदर्शन गर्न विद्यार्थी तयार हुनुपर्छ । विद्यालय तहको विभिन्न कक्षाको वार्षिक परीक्षामा सहभागी भएका र परीक्षाको तयारी गरिरहेका परीक्षार्थीलाई राम्रो नतिजाका लागि शुभकामना ।