कुनै पनि देशको विकासका लागि त्यहाँ शिक्षाको उचित विकास आवश्यक हुन्छ । शिक्षाको विकास भएमात्र त्यस देशको आर्थिक, सामाजिक, राजनीतिकलगायत समग्र पक्षको विकास हुन सक्छ । कुनै पनि ठाउँको शैक्षिक अवस्था कमजोर हुनु भनेको त्यहाँको सबै पक्षहरुको अवस्था कमजोर हुनु हो । विकसित देशहरुले शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट तयार पार्दछन् । यसै कारण ती देशहरु विकासको दौडमा सधैं अगाडि नै रहेका हुन्छन् । तर, हाम्रो देशमा भने शिक्षामा लगानी गर्नुलाई विकास मान्ने गरिएको छैन । राज्य सञ्चालनको जिम्मेवारी पाएका व्यक्तिदेखि आम नागरिकसमेतले शिक्षाको विकासमा ध्यान दिन सकेको पाइँदैन । संघीय तहदेखि स्थानीय तहसम्मका नेतृत्वको प्राथमिकतामा शिक्षा पर्न सकेको छैन भने विकास माग गर्ने आम नागरिकको प्राथमिकतामा
समेत शिक्षा पर्ने गरेको छैन ।
आम नागरिकले आफ्ना जनप्रतिनिधिलाई राम्रो शिक्षा हुनपर्यो भन्ने माग बिरलै गर्दछन् । बरु उनीहरु आफ्नो क्षेत्रमा राम्रो सडक, पुल, ढल निकासको समस्या समाधानमा केन्द्रित हुने गरेका छन् । यस्तै समस्या हेटौंडा उपमहानगरपालिकाका सबै जसो वडाहरुमा पनि छ । हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडाबासीले वडामा राम्रो शिक्षा हुनुप¥यो नभनी सडक राम्रो हुनपर्यो भन्ने गरेको गुनासो गरेका छन् । सोमबार आफ्नो वडाको एक संस्थागत विद्यालयको अभिभावक भेलामा बोल्दै वडाध्यक्ष सिग्देलले वडाबासीहरु बाटो, ढल भएन भनेर आउने गरेको भन्दै विद्यालयमा पठनपाठन राम्रो भएन, विद्यालय राम्रो हुनुप¥यो भनेर वडाबासी आउनुपर्ने बताउनुभयो । राम्रो बाटोघाटोलाई मात्र विकास देख्ने परिपाटीलाई आफूले सुधार गर्न सुरु गरेको उनको भनाइ छ । वडाभित्र प्रशस्त शैक्षिक क्रियाकलाप गरिरहेको दावी वडाध्यक्ष सिग्देलको छ । शिक्षामा सुधार नभई समाज सुधार नहुने भन्दै वडामा शिक्षालाई प्राथमिकता दिएर काम गरिरहेको दावी वडाध्यक्ष सिग्देलको छ ।
वडाध्यक्ष सिग्देलले भनेजस्तै देशका अधिकांश नागरिक र जनप्रतिनिधिमा विकासको नाममा सडकमोह उच्च रहेको छ । आफ्नो नानीबाबु अध्ययन गर्ने विद्यालयको विकासमा स्वयम् अभिभावक जागरुक बन्नुपर्छ । अभिभावकको चासो र चिन्ताबाट विद्यालय शिक्षाको सुधार र विकास सहज हुन्छ । यसका साथै, विद्यालय तहको शिक्षाको अधिकार पाएको स्थानीय तहको नेतृत्वले पनि शिक्षाको विकासमा ध्यान दिनुपर्छ । अन्य भौतिक पूर्वाधार भन्दा शिक्षाको विकासलाई बढी महत्व नदिएसम्म समग्र विकास सम्भव हुँदैन । शिक्षाले व्यक्तिको सर्वाीण विकास गरी असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ । राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि त्यस्तो जनशक्तिको योगदान महत्वपूर्ण हुन्छ । सडकलगायत भौतिक विकासमा गरिएको लगानीको तुरुन्तै प्रतिफल देखिन्छ । तर, शिक्षामा गरिएको लगानीको प्रतिफल आजको भोलि नै नदेखिने भएकाले पनि जनप्रतिनिधिको प्राथमिकतामा शिक्षा नपरेको हुनसक्छ ।
शैक्षिक क्षेत्रको सुधार र विकासका लागि धेरै काम गर्न आवश्यक छ । शिक्षामा विकास हुनका लागि प्रत्येक वडा तहबाट आ–आफ्नो वडाभित्रका शैक्षिक विकासमा जोड दिनुपर्छ । वडाभित्रका शैक्षिक समस्याहरुलाई समाधान गर्नुपर्छ । वडाध्यक्षहरुले नै सबैभन्दा पहिला आ–आफ्नो ठाउँबाट शैक्षिक सुधारको अभियान चलाउनुपर्छ । समग्र देशको शैक्षिक अवस्था सुधार्न आफ्नो ठाउँबाट शैक्षिक गतिविधिलाई समयानुकूल बनाउँदै लैजानुपर्दछ । शैक्षिक विकासलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरु निर्माण गरिनुपर्छ । वडाबासी र स्थानीय व्यक्तिको मागअनुसार जनप्रतिनिधिलाई सडकलगायत अन्य भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने बाध्यता पनि छ । सडकलगायत भौतिक पूर्वाधारमा गरिएको लगानीको प्रतिफल तुरुन्तै देखिने भएकाले काम देखाउनकै लागि जनप्रतिनिधिले पनि सडकलगायतका पूर्वाधारमा जोड दिने गरेका हुन् । तर, ढिलो प्रतिफल आउने अए पनि यसको दीर्घकालीन सकारात्मक प्रभाव पर्ने भएको शिक्षामा पर्याप्त बजेट विनियोजन गर्न सम्बद्ध पक्षको ध्यान जानैपर्छ ।