हेटौँडाः हेटौँडा–९ स्थित हेटौँडा मोडर्न स्कूलको ३३ औं स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालयका सञ्चालक श्यामकृष्ण खतिवडाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी विविध खेलकुद कार्यक्रमको आयोजना गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयको उत्कृष्ट विद्यार्थीको रुपमा सुमिसा श्रेष्ठलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई मेडल वितरण गरेको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुदीप बर्तौलाले विद्यालयको प्रगति प्रतिवेदनसँगै भावी योजनाबारे जानकारी गराउनुभएको थियो । विद्यालयले पत्रकार सुरेश श्रेष्ठसहित उत्कृष्ट शिक्षकको रुपमा रोजिना राई, अनामिका बर्नवाल, एसईईमा राम्रो नतीजा ल्याउन सहयोग गर्ने शिक्षक नारायणप्रसाद खतिवडा र अर्जुन ढकाल, कर्मचारी केशव राई र सुनिता थिङलाई पनि सम्मान गरेको छ ।
कार्यक्रममा वडाध्यक्ष सुकराम केसी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीको पनि आतिथ्य रहेको थियो । अतिथिलाई मायाको चिनोस्वरुप विद्यालयले पुस्तक प्रदान गरेको थियो । १० कक्षासम्म पठपाठन हुने विद्यालयमा पाँच सय ३० जना विद्यार्थी छन् । यस वर्षको एसईईमा १९ जना विद्यार्थी सहभागी हुँदैछन् ।