अहिले मुलुकको अर्थतन्त्र रेमिट्यान्स (विप्रेषण)ले धानेको भनिँदै आएको छ । पछिल्लो समय वैदेशिक रोजगारमा जाने नेपालीको संख्यामा भएको वृद्धिसँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढिरहेको हो । देशभित्रै रोजगारीको पर्याप्त अवसर नहुँदा वैदेशिक रोजगारीमा गएर पठाएको रेमिट्यान्सले परिवारको दैनिक चलाउन निकै सहज भएको छ । यसले व्यक्ति तथा परिवारको आर्थिक अवस्थामा सुधार ल्याएको छ । गुणस्तरीय जीवनयापनका लागि पनि रेमिट्यान्सको योगदान महत्वपूर्ण बनिरहेको छ । त्यतिमात्र नभई देशको अर्थतन्त्रलाई सन्तुलित राख्न पनि रेमिट्यान्सले सहयोग गर्दै आएको छ । देशमा बढ्दो व्यापार घाटाका कारण उत्पन्न हुने भुक्तानी असन्तुलन कम गर्न रेमिट्यान्सको महत्वपूर्ण भूमिका देखिएको छ । विदेशबाट विभिन्न वस्तु तथा सेवा आयातको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्ने र देशमा विदेशी मुद्रा आर्जनको अन्य क्षेत्रहरु शिथिल बनिरहँदा बढ्दो रेमिट्यान्सले भुक्तानी सन्तुलन कायम गर्नुका साथै विदेशी मुद्रा सञ्चितिमा पनि सुधार ल्याएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यसलाई हेर्दा मासिक करिब १ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । यो आर्थिक वर्षको असोजमा सबैभन्दा बढी १ खर्ब ३७ अबै रेमिट्यान्स भित्रिएकोमा सबैभन्दा कम माघमा १ खर्ब ६ अर्बमात्र रेमिट्यान्स आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्म ७ खर्ब ३३ खर्ब रेमिट्यान्स आएको थियो । जसअनुसार मासिक औसत १ खर्ब २२ अर्ब रेमिट्यान्स आएकोमा माघमा १ खर्ब ६ अर्बमात्र रेमिट्यान्स भित्रिएकाले रेमिट्यान्स घट्ने हो कि भन्ने आशंका थपिएको छ । गत आर्थिक वर्ष मासिक औसत १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । माघ महिनामा रेमिट्यान्स घट्नुमा बैंकको ब्याजदर घट्दै जानु, आयात बढ्ने संकेत देखिनु, बैंकिङ क्षेत्र जोखिममा रहेको हल्ला फैलाउनु विदेशमा कमाएको पैसाले सुन किनेर पठाएको हुनसक्नेजस्ता कारण मानिएको छ ।

पछिल्लो तथ्यांकले दैनिक करिब चार अर्ब रुपियाँ रेमिट्यान्स भित्रिने गरेको देखाउँछ । देशको समग्र अर्थतन्त्र अझै चुनौतीपूर्ण रहेको भए पनि अन्य आर्थिक सूचकमा समेत सुधार हुँदै गएको देखिन्छ । समग्र अर्थतन्त्रको अवस्था सन्तोषजनक नभएका कारण नेपाली अर्थतन्त्रलाई रेमिट्यान्सले निकै भरथेग गरिरहेको छ । रेमिट्यान्सले विदेशी विनिमय सञ्चिति बढाउनुका साथै नेपालीको आम्दानी वृद्धि र उपभोग प्रवृतिमा सुधार ल्याएको छ । झण्डै संघीय सरकारको वार्षिक बजेट बराबर भित्रिने गरेको रेमिट्यान्स सरकारको आन्तरिक आम्दानीभन्दा बढी हुन थालेको छ । तर, यति धेरै रेमिट्यान्स आउँदा पनि त्यसलाई पुँजी निर्माण र उत्पादनको क्षेत्रमा प्रयोग गर्न सकिएको छैन । रेमिट्यान्सको अधिकांश हिस्सा व्यक्ति तथा परिवारले उपभोगमा खर्च गरिरहेका छन् । आयआर्जन, स्वरोजगार, उद्यमशीलता विकास तथा उत्पादकत्व वृद्धिका लागि रेमिट्यान्सको उपयोग गर्न सकिएको छैन ।

पछिल्लो १० वर्षको अवधिमा रेमिट्यान्स आउने क्रम तीन गुनाले वृद्धि भएको छ । आर्थिक वर्ष २०६९/०७० मा ४ खर्ब ३० अर्ब रेमिट्यान्स भित्रिएकोमा आर्थिक वर्ष २०७९/०८० मा १२ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकको आधारमा यस वर्ष १४ खर्ब भन्दा बढी रेमिट् यान्स भित्रने सम्भावना दे खिएको छ । वर्षेनि रेमिट्यान्सको अंक वृद्धि हुँदै गए पनि नगन्यमात्र उत्पादनमूलक क्षेत्रमा प्रयोग हुनुले राम्रो संकेत गर्दैन । अधिकांश व्यक्ति ऋण लिएर वैदेशिक रोजगारीमा जाने भएकाले रेमिट्यान्सको पहिलो प्राथमिकता ऋण तिर्नु हुन्छ । ऋण तिरिसकेपछि बचेको रकमलाई घरखर्च चलाउन, सुविधाका वस्तु खरिद गर्न, बालबालिका पढाउन र घरजग्गा जोड्न खर्च हुने गरेको छ । आम्दानी राम्रो भएपछि विलासिता जीवन बिताउने आकाङ्क्षा बढ्ने भएकाले पनि रेमिट्यान्सको उपयोग अनुत्पादक क्षेत्रमा नै बढि भइरहेको छ । अर्थतन्त्रलाई गतिशील बनाई दिगो आर्थिक वृद्धिका लागि रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन सरकारले ध्यान दिनु आवश्यक छ ।