फाइनल प्रवेश गरेको नेशनल इन्फोटेक कलेजको टिम ।

हेटौँडाः स्व. अष्टकुमारी शाक्य स्मृति टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकास्थित नेशनल एन्फोटेक कलेज प्रवेश गरेको छ । हेटौँडा–४, हुप्रचौरमा सोमबार भएको समूहचरणको दोस्रो खेलमा पनि विजयी हुँदै इन्फोटेक कलेज फाइनल प्रवेश गरेको हो । तीन वटा टिम रहेको समूह बीचमा बारा जिल्लाको सिमरा कलेजलार्ई ३६ रनले पराजित गरेको नेशनल इन्फोटेकले सोमबार चितवन जिल्लाको अरोमा कलेजलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

सोमबार चितवनको अरोमा कलेजलाई १६ रनले हराउँदै नेशनल इन्फोटेक फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेशनल इन्फोटेकले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेशनल इन्फोटेकका लागि राहुल अन्सारीले सर्वाधिक ५५ रन बनाए । यस्तै सफवान अलीले ५१ रन जोड्न सफल भए । बलिङतर्फ अरोमा कलेजका जेनिश क्षेत्रीले ३ र मनिष सुनारले २ विकेट लिएका थिए ।

नेशनल इन्फोटेकले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको अरोमा कलेजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन मात्र जोड्न सफल भयो । अरोमा कलेजबाट जेनिश क्षेत्रीले ४१ रन जोड्न सफल भए । यस्तै पाल्देन लामाले २८ र कृष्ण घिमिरेले १९ रन जोडेका थिए । बलिङतर्फ नेशनल इन्फोटेकका वशिम अलि ननसुरीले ३ विकेट लिएका थिए । यस्तै एमडी अन्सारीले २ विकेट लिए । म्यान अफ द म्याच नेशनल इन्फोटेकका सफ्वान अली घोषित भए । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । फाइनलमा पर्सा जिल्लाको नेशनल इन्फोटेक कलेज र मकवानपुर जिल्लाको हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच प्रतिस्पर्धा हुनेछ । म्यानेजमेन्ट समूह ए को विजेता बन्दै फाइनल प्रवेश गरेको हो ।

जेसीआई हेटौँडाले आयोेजना गरेको प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि मकवानपुर जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो ।