हेटौँडाः हेटौँडा–६, गौरीटारमा रहेको बालजागृति युवावर्ष माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः कुमार तिमल्सिना चयन हुनुभएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिको बैठकले अध्यक्षमा तिमल्सिनालाई सर्वसम्मत चयन गरेको प्रधानाध्यापक सम्झना अधिकारीले जानकारी दिनुभयो ।
तिमल्सिना दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । जिल्लाका अन्य विद्यालयमा व्यवस्थापन समिति छनोटमा कठिनाई भइरहेका बेला बालजागृतिमा सर्वसम्मत नयाँ समिति चयन भएको छ ।
गत माघ २० गते भएको ४० औं अभिभावक भेलाले अभिभावकबाट ४ जना सदस्य सर्वसम्मत चयन गरेको थियो । अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको सदस्यमा कोपिला चौलागाई, कविता चौलागाई, पार्वती घिमिरे र राधिका लामा छनौट भएको थियो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।