आँखाको शल्यक्रीया गर्दै । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा सामुदायिक आँखा अस्पतालले १ सय २४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले तीन दिने शिविरबाट पहिचान भएकामध्ये शुक्रबार एकसय २४ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो ।

रोटरी क्लब अफ हेटौँडाले विभिन्न स्थानमा आयोजना गरेको निःशुल्क शिविरबाट २ सय ५ जनाको आँखामा मोतिविन्दु पहिचान भएको थियो । पहिचान भएकामध्ये शुक्रबार १ सय २४ जनाको शल्यक्रिया भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

चितवन जिल्लाको खैरहनी, सर्लाही जिल्ला र हेटौँडा उपमहानगरपालिका–१६ मा भएको शिविरबाट पहिचान भएका बिरामीको शल्यक्रिया गरिएको हो । कार्यक्रमको पहिलो दिन सर्लाही जिल्लामा निःशुल्क आँखा शिविर हुँदा ९९ जनामा मोतिविन्दु पहिचान भएको थियो । दोस्रो दिन चितवन जिल्लाको खैरहनी र हेटौँडा उपमहानगरपालिका–१६ मा निःशुल्क शिविर हुँदा ७३ जनाको आँखामा मोतिविन्दु पहिचान भएको थियो ।

यस्तै, तेस्रो दिन बाघमारा र हेटौँडा उपमहानगरपालिकाको बसामाडीमा निःशुल्क शिविर हुँदा ३३ जनाको आँखामा मोतिविन्दु पहिचान भएको हो । आज शनिबार आँखा अस्पतालमा बाघमारा र बसामाडीमा पहिचान भएका मोतिविन्दुका बिरामीको शल्यक्रिया गरिनेछ ।