बालमैत्री विद्यालय घोषणाका विषयमा जानकारी दिनुहुँदै प्रिन्सीपल विनोद सुवेदी ।

हेटौँडाः बालजागृति इङ्गलिस सेकेण्डरी स्कूल ‘बालमैत्री विद्यालय’ घोषणा हुने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २२ गते मंगलबार विद्यालयलाई ‘बालमैत्री विद्यालय’ घोषणा गरिने जानकारी दिएको हो ।

हेटौँडा उपमहानगरपालिकाले बालमैत्री विद्यालय घोषणाका लागि तयार विभिन्न सूचक पूरा भएकाले बालमैत्री घोषणा गर्न लागेको जनाएको छ । उपमहानगरपालिकाले विद्यालयमा बाल समूहको बैठक नियमित बस्नुपर्ने, विद्यालयमा बालमैत्री आचारसंहिताबारे महिनाको एक दिन एक घण्टा विद्यार्थीसँग छलफल हुनुपर्ने, विद्यालयले बालसंरक्षण नीति बनाई सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, विद्यालयमा विद्यार्थीलाई विपद् पूर्वव्यवस्थापन सम्बन्धी अतिरिक्त सत्र सञ्चालन गर्नेजस्ता २० वटा कार्य पूरा गर्नुपर्ने भनेकोमा विद्यालयले उक्त कार्य पूरा गरेको जनाइएको हो ।

हेटौंडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारीका साथ अघि बढेको छ । जसअन्तर्गत् विभिन्न वडा, विद्यालयले आफ्नो सूचक पूरा गरी घोषणाको चरणमा रहेको छ । कक्षा १० सम्म अध्यापन हुने बालजागृति स्कूलमा एक हजार ५ सय ३४ विद्यार्थी अध्ययनरत छन् । स्कूलले विद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीको बिमासमेत गरेको छ । जसअन्तर्गत् विद्यार्थीमा भवितव्यका घटना घटेमा उक्त बीमाबाट सेवा लिन सकिनेसमेत विद्यालयले जनाएको छ ।

विद्यालयले बालमैत्री विद्यालय घोषणा कार्यक्रमको दिन बिहान विद्यार्थीको स्वास्थ्य चेकजाँच गर्ने, विद्यालयले विभिन्न बाजासहितको र्याली निकाली विद्यालय परिसरमा एक समारोहको अयोजना गर्नेछ । कार्यक्रममा वडामा रहेका २१ वटा टोल विकास संस्थाहरुसमेत उपस्थित हुनेछन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको सभाध्यक्षता तथा २ नम्बर वडाका कार्यबाहक अध्यक्ष सुरज बर्ताैलाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडा सदस्य मैया परियार र ईन्द्रप्रसाद रिजाल, विद्यालयका प्रिन्सिपल विनोद सुवेदी, बाल सहजकर्ता राहुल शर्मा र बाल समूहका अध्यक्ष कृसाङ्गी अर्यालको आतिथ्य रहेको थियो ।