हेटौँडाः बागमती प्रदेशसभामा प्रतिपक्षी दलहरुले प्रदेश सरकारले समपुरक बजेट ल्याउनु पर्ने माग राखेका छन् । झण्डै ५ महिनापछि मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले पुरक बजेट ल्याएर प्रतिपक्षीको माग पूरा गर्नुपर्ने बताएका छन् ।

प्रदेशसभा बैठकमा नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता जेएन थपलियाले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा त्रुटि भएको बताउँदै प्रदेश सरकारले प्रदेशसभा बोलाउन ढिलाई गरेको आरोप लगाउनुभएको छ । संघीयता आएको ६ वर्ष भइसकेकोले गणतन्त्रको अभ्यासमा नै रहेको भन्न नमिल्ने बताउँदै बागमती प्रदेश सरकारले के काम ग¥यो भनेर समीक्षा गर्नुपर्ने टिप्पणी गर्नुभयो । वर्तमान सरकारको परिपक्वता र दूरदर्शिता कम भएको आरोप लगाउँदै विपक्षी दलले ३ पटक पत्रकार सम्मेलन गरेर सभाको माग गर्नुपरेको गुनासो समेत गर्नुभयो । नेता थपलियाले प्रदेशसभा जनताको प्रतिनिधि, सार्वजनिक थलोलाई किन अवरुद्ध गरियो ? भनेर प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “संसदमा जनताको पक्षमा छलफल हुनुपर्नेमा सरकारले छिटो संसद बोलाउन सकेन, अहिलेको समयमा दुग्ध व्यवसायी छरपस्ट रहेका छन्, किसान आन्दोलित भएका छन्, प्रदेशका किसान दुग्धको भुक्तानी नपाएर रोइरहेका छन्, प्रदेश सरकार केन्द्रीय सरकारको काम भनेर उत्तर दिन हुन पाउँदैन, जनताको समस्या समाधान गर्नुपर्छ, किसानलाई प्रोत्साहित गर्न वर्तमान सरकारले केही गर्न सकेको छैन, ७ अर्ब रकम बाँकी रहँदा समेत प्रदेश सरकार केन्द्रको मुख हेरेर बसेको छ, अघिल्लो सरकारले किसानलाई दिएको अनुदान कटौती गरेको छ ।”

प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न सेवाका कर्मचारीको विज्ञापन गरी परीक्षा सञ्चालन गरेको तर लोकसेवा दिएकाहरुको समेत रिजल्ट गर्न नसक्दा युवाहरुमा निराशा पैदा भएको उहाँको भनाइ छ । सरकारले एक सय बेडका अस्पताल सञ्चालनमा स्विकृत दिन नसक्दा नर्सिङ पढ्न भारत, चीनकोे सिमानामा जानुपर्ने अवस्था रहेको बताउँदै सरकारले स्वास्थ्य मन्त्रालयले प्रतिपक्षीले स्विकृत दिएन भनेर भ्रम छर्ने काम गरेको प्रति आपत्ति जनाउनुभयो । “सरकार मुकदर्शक बनेर कर्मचारीको इशारामा बस्ने गरेको छ, आफ्नो कमजोरी ढाक्न सरकारले प्रतिपक्षीलाई दोष लगाउने गरेको छ, अमुक कर्मचारी देखाएर सरकार निरिह बस्न मिल्दैन” नेता थपलियाले भन्नुभयो, “सरकार ठुलो कि कर्मचारी ठुलो ?” सरकार ऐन अनुसार चल्नुपर्ने बताउँदै सत्तापक्षलाई बेइमानी गर्न छुट नभएको उहाँको भनाई छ । गतवर्षको बजेट असमानता भएको बताउँदै जनताको राजश्व एक पक्ष ढंगले बाँड्न नपाइने भन्दै सरकारदाई खबरदारी समेत गर्नुभयो । प्रदेशलाई समृद्ध बनाउन प्रतिपक्षी तयार रहेको जानकारी गराउँदै राजनैतिक बेइमानी भएकोले प्रतिपक्षीलाई कमजोरी नठान्न चेतावनी दिनुभयो । बागमती प्रदेश सरकार ७ महिनासम्म कानमा तेल हालेर बसेको र कुनै काम गर्न नसकेको उहाँको ठहर छ ।

यस्तै बैठकमा नेपाली काँग्रेस संसदीय दलका उपनेता, बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री एवम् कार्यबाहक आर्थिक विकास मन्त्री रामकृष्ण चित्रकारले संसदमा उठान गर्नुपर्ने धेरै विषय भएको बताउँदै संसदमा जनताको अपेक्षा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । संसद जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने ठाउँ भएकोले संसदको गरिमा मर्यादा आफैले तयार गर्ने बताउँदै जनताका लागि आवश्यक कार्यक्रम, योजना ल्याउन आवश्यक रहेको बताउनुभयो । जनताले प्रदेश सरकारबाट धेरै अपेक्षा गरेकोले सरकारले सहमति, सहकार्यले जनतालाई उत्साहित गर्ने काम गर्नुपर्ने उहाँको भनाई छ । वर्तमान व्यवस्था सबैको बलिदानबाट आएकाले सहमति र सहकार्यको विकल्प नभएको उहाँको जीकिर छ । प्रदेश सरकार स्पष्ट रुपमा जनताको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो, “जिम्मेवारीपूर्वक सरकार अघि बढ्नु पर्छ यो वा त्यो नाउँमा विभाजित, विखण्डित भएर विकासमा केन्द्रित नभई राजनैतिक विषयमा मात्र केन्द्रित भएमा जनता निराश हुन्छन्, व्यवस्थालाई दिगो बनाउन एकताबद्ध भएर अघि बढ्न आवश्यक छ, सरकार संसदमा केही निर्णय भएकोले सम्बोधन गरेर अघि बढ्न तयार छ, सरकारले जनताको स्वास्थ्य, रोजगार, शिक्षा, उद्योगको विषयमा कार्य गर्न आवश्यक रहेको छ ।”

यस्तै बैठकमा नेकपा माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारको सफलता, असफलताको विषय अधिवेशन भएको बताउनुभयो । संविधान संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको बताउँदै कार्यान्वयनमा विभिन्न चुनौती रहेको उहाँको भनाई छ । विभिन्न ढंगबाट संघीयता असफल पार्ने काम भएको आरोप लगाउँदै संघीयताको अभ्यासमा राजनैतिक दल धेरै भएको एकले अर्काेलाई काममा बन्देज लगाउने काम गर्न नहुने समेत बताउनुभयो । संसदलाई अवरोध गर्न खोजिएको बताउँदै प्रदेशसभामा सरकार जिम्मेवार रहेकोले विकासलाई समानुपातिक हिसाबले काम गर्नु पर्छ भन्दै आफुहरु आएको उहाँले बताउनुभयो । सरकारमा रहेकाले आफुमा भएको कमजोरीलाई सुधार गर्दै जानुपर्ने बताउँदै प्रदेश सरकाले दिर्घकालिन योजना बनाएर अघि बढेको उहाँको भनाई छ । प्रदेश सरकारले विकास निर्माणको क्षेत्रमा बहुवर्षीय योजना लिएर जान लागेकोले सहकार्य समझदारी कायम गरेर जानुपर्नेमा उहाँले जानुभयो ।

यस्तै, बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले संसद प्रतिपक्षीका लागि भएकोले संसद हावी हुनु पर्नेमा सरकार हावी भएको जीकिर गर्नुभयो । संसदलाई सरकारले उपेक्षा गरेको थापाले आरोप लगाउनुभयो । जनताको समस्या यावत रहेकोले आम जनताको नजर रमा सरकारले काम गर्न नसकेको उहाँको दावी छ । सरकारले आफुले रोजगारी दिन नसक्ने तर विदेश जान्छु भन्दा समेत जनता गोली खाएर मर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै प्रधानमन्त्री आफैंले सदनमा सो घटनामा अपराध भएको भन्ने तर अपराधीलाई कारबाही गर्न नसकेको प्रति उहाँले आपत्ति जनाउनुभएको छ । पछिल्लो समय देशभरमा नै सहकारीमा समस्या उत्पन्न भएकोमा प्रदेश सरकारस्तरमा रहेका सहकारीलाई समस्याग्रस्त घोषणा गर्नुपर्ने बताउँदै देश आर्थिकरुपमा तहस–नहस भएको उहाँको भनाई छ । सरकारले भ्रष्टाचारको छानविनको नममा तर्साउने मात्र काम गरेको उहाँको भनाई छ ।
बैठकमा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले प्रतिस्पर्धी र सहयात्री दुबै भएकाले प्रतिस्पर्धा गरिरहँदा सहयात्रालाई विर्सन र सहयात्रा गरिरहँदा प्रतिस्पर्धी बिर्सन नहुने बताउनुभयो । संघीय सरकारको नेतृत्वहरुबाट सामन्ती संकिर्ण सोचका कारण प्रहरी समायोजन नभएको बताउँदै प्रहरी समायोजन गर्न संघीय सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो । सरकारको अनुभुति दिने निजामती प्रशासन कार्यान्वयन गर्न आवश्यक रहेकोले प्रदेश अनुसन्धान ब्युरो कार्यान्वयनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज गोसाईले प्रदेश सभामा गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले बैठकमा देशमा सरकार छ की छैन ? भनेर प्रश्न समेत गर्नुभयो । बागमती प्रदेश सरकार कम क्षमताको भएको बताउँदै मुख्यमन्त्रीले बाल रहर त्याग्नुपर्ने बताउनुभयो । सरकारले प्रतिपक्षीलाई वायसको नजरले हेरेको उहाँको आरोप छ । पछिल्लो समय प्रदेश सरकारले बेइमानी गरेकोले राजनैतिक बेइमानी धेरै समय नटिक्ने दावी गर्नुभयो । प्रदेश सरकारले बारम्बार प्रतिपक्षीलाई झुक्याउने काम गरेको आरोप लगाउनुभयो । जनताको काम गर्न नसके प्रदेश सरकारले राजिनामा दिनुपर्ने उहाँले दावी गर्नुभयो । प्रदेश सरकारले आफ्नो स्रोत पहिचान गर्न नसकेको प्रति आपत्ति जनउँदै प्रदेश सरकारले आफुसँग भएको बजेट समेत खर्च गर्न नसकेको उहाँको भनाइ छ । प्रदेश सरकारले योजना अलपत्र पार्ने, काममा अनियमितता गर्ने गरेको बताउँदै प्रदेश सरकार जनतालाई गरिब बनाउन लागेको आरोप लगाउनुभयो । देशमा भ्रष्टाचार अनियन्त्रित हुँदै गएको, देश विचौलियाको हातमा गएको उहाँको भनाई छ । देश बैदेशिक ऋणको पासोमा रहेको बताउँदै देशको अर्थतन्त्रमा निरन्तर हमला भएको उहाँको आरोप छ ।

यसैबीच प्रदेशसभा बैठकबाट शोक प्रस्ताव पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गर्दै बुधबार बिहान ११ः३० बजेसम्मका लागि स्थगित गरिएको हो । प्रदेशसभा बैठकले बागमती प्रदेशका पूर्व प्रदेश सभासदस्य बलराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । पौडेलको निधनप्रति संसद एक मिनेट मौनधारण समेत गरिएको थियो । चितवन निवासी पौडेलको गत पुस १७ गते सडक दुर्घटनामा परी निधन भएको थियो । ६६ वर्षका पौडेल २०७९ पुसमा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहनुभएको थियो ।