त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले बीबीए पाँचौं सेमेस्टरको परीक्षाको नतीजा बिहिबार प्रकाशन गरेको छ । बिहिबार प्रकाशित नतिजाअनुसार मकवानपुर बहुमुखी क्याम्पसका ५ जना विद्यार्थीले ४ जिपिए हासिल गरेका छन् । ४ जिपिए हासिल गर्ने ५ जना मध्ये सैय्यद अतिफा हसन र सैय्यद अफिफा हसन जुम्ल्याहा दिदीबहिनी पनि हुन् । परीक्षामा उत्कृष्ट नतीजा हासिल गरेकी दिदीबहिनीसँग समृद्ध समाजका लागि सुप्रभा चौलागाईले नियमित पठनपाठन, परीक्षाको नतीजा र क्याम्पसको शैक्षिक वातावरणको विषयमा केन्द्रित भएर गरिएको कुराकानीको सम्पादित अंशः
समाजः नतिजामा ४ जिपिए हासिल गरेपछि कस्तो अनुभव हुँदैछ ?
अफिफाः क्याम्पसमा प्रथम भयो, राम्रो नतिजा आयो भने छात्रवृत्ति पाइन्छ । मलाई धेरै खुसी यसैमा छ ।
समाजः ४ जिपिए ल्याउनका लागि कतिको मिहिनेत गर्नुपर्यो ?
अफिफाः मिहिनेत गरेको थिएँ । राती ११ बजे सुतेर बिहान ३ बजे उठेर पढ्ने गरेको थिएँ । व्यवहारिक परीक्षाहरुमा धेरै अभ्यास गर्नुपर्ने हुन्छ । त्यहि हो अभ्यास र मिहिनेतले सफल भएको जस्तो लाग्छ ।
समाजः तपाईहरुको पढ्ने शैली कस्तो छ ?
अफिफाः मलाई परीक्षाको समयमा निन्द्रा लाग्दैन । लेखेर याद हुन्छ । सिद्धान्तहरु लेखेर पढ्ने गरेको छु । यसरी पढेर हामी परीक्षाको तयारी गर्ने गरेको छौं । नयाँ–नँया कुराहरु आफैं लेखेर नोट बनाउने, शिक्षकले दिएको मात्र सीमित नभई आफुले पनि खेज्ने सामग्री जुटाएर पढ्ने शैलीले सफल बनायो जस्तो लाग्छ ।
समाजः अतिफा र अफिफा जुम्ल्याहा हुनुहुन्छ । दुबै बीच कस्तो फरक छ ?
आतिफाः हामी बीच धेरै कुरा मिल्दो नै छ । हामी सानैदेखि सँगसँगै हुन्छौं । फरक नै भन्नु पर्दा अफिफा अति चञ्चल स्वभावको छ । उसलाई रमाईलो गर्न र फिल्महरु हेर्न मन पर्छ । यसमा म विपरित छु । मलाई शान्त बस्न मन पर्छ ।
समाजः बिबिए पढाई रोज्नुको कारण के हो ?
आतिफाः हाम्रो पहिला सोच चार्टर्ड एकाउन्ट (सिए) पढ्ने थियो । तर पछि हामीले बिबिए रोज्यौं । बिबिएमा धेरै स्कोप छ । यो विषयमा क्षमता विकास हुने र राम्रो पोस्टको जागिर पाउन सकिन्छ । सँगै उद्ययमशीलताको क्षेत्रमा पनि यहि विषयले भूमिका राख्छ । यहि भएर यो विषय चयन ग¥यौं ।
समाजः यो विषयलाई क्याम्पसमा कसरी पढाउने गरिन्छ ?
आतिफाः सबै श्रोत साधनको उपयोग गरी पढाईन्छ । प्रोजेक्टरको प्रयोगबाट पढाई हुन्छ । र लाइब्रेरीमा पनि कोर्सको सबै किताबहरु राखिएको छ । जसबाट पढ्न धेरै सहज र राम्रो वातावरण छ ।
समाजः पढाई सँगसँगै अन्य के कस्ता क्रियाकलापहरु गर्नुहुन्छ ?
अफिफाः म ग्राफिक डिजाइन गर्छु । भिडियो इडिटिङ्ग गर्छु । यसले क्षमता विकास भइरहेको हुन्छ ।
समाजः तपाईहरुको परिवारले कस्तो भूमिका राख्नुहुन्छ ?
आतिफाः हाम्रो परिवारको साथले गर्दा नै हामी यहाँसम्म पुग्न सफल भएको हौं । हाम्रो परिवारले हाम्रो परीक्षाको समयमा हामीलाई धेरै सहयोग गर्नुहुन्छ । घरको धेरै काम नगर र आफ्नो पढाई गर, केहि आवश्यक छ भने हामीलाई भन जस्तो कुरा गर्नुहुन्छ । र धेरै सपोर्ट गर्नुहुन्छ ।
समाजः पढाईमा कस्तो थप सुधार गर्नुपर्ने छ । तपाईहरुको योजना के छ ?
आतिफाः सबै कुरा राम्रो नै छ । तर पनि किन हो हाम्रो सैद्धान्तिक विषय अलि कमजोर छ । याद गर्न क्षमता सुधार्दै लैजाने योजना रहेको छ ।
समाजः तपाईले ४ जिपिए ल्याउँदा साथीहरुको प्रतिक्रिया कस्तो रह्यो ?
आतिफाः हामी भन्दा हाम्रो साथीहरु धेरै खुसी भएको पाएका छौं । साथीहरु पनि धेरै सहयोग गर्ने र मिजासिलो हुनुहुन्छ ।
समाजः सबै राम्रो रहँदा रहँदै पनि क्याम्पसले के के कुरा सुधार्न आवश्यक छ ?
अफिफाः अहिलेको समयमा क्याम्पसमा धेरै विदा हुने गरेको छ । त्यसकारण हाम्रो कोर्समा ढिलाई हुन्छ । कुनै शिक्षकहरु पनि कोही स्लाईड मात्र देखाउने, विद्यार्थीले बुझ्यो कि बुझेन मतलब नगर्ने किसिमको हुनुहुन्छ । यस पक्षहरु सुधार गर्न जरुरी छ ।
आतिफाः मैले विचार गरेको कुरा चाहिँ हाम्रो क्याम्पसमा बिबिए बिबिएमलाई धेरै मान्यता दिने बाँकी संकायको धेरै चासो नलिने गरेको छ । सबै विद्यार्थीहरुलाई समान रुपमा हेर्नु पर्छ । यो विषयमा क्याम्पसमा नोक–झोक पनि भएको थियो ।