हेटौँडाः हेटौँडा–४ निवासी दीपक सुुवेदी र सृजना पौडेल दम्पत्तिले विवाह वर्षगाँठको अवसरमा विद्यालयलाई सहयोग गरेको छ । सुवेदीले एसएलसीसम्मको अध्ययन पूरा गरेको र पौडेल हाल कार्यरत हेटौँडा–४, कर्रास्थित श्रमिक माविले स्थापना गरेको अक्षयकोषमा सुवेदी र पौडेल दम्पत्तिले ११ हजार एक सय ११ रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
श्रमिक मावि पूर्वविद्यार्थी समाजका सचिव समेत रहनुभएका सुवेदी र पौडेलले मंगलबार बिहान विद्यालयको प्रार्थना समयमा वडा अध्यक्ष नवीन सिग्देलको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की र विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।
विद्यालयले स्थापना गरेको अक्षयकोषमा हालसम्म एक लाख १० हजार रुपैयाँ जम्मा भइसकेको छ । विद्यालयले आन्तरिक स्थायी स्रोतको रुपमा अक्षयकोष निर्माण गर्ने योजना बनाएको छ । विद्यालयले अक्षयकोषमा ५ लाख रुपैयाँ जम्मा गरेपछि वडाले ५ लाख रुपैयाँ थप गरिदिने जनाएको छ ।
नगदसहित सुवेदी दम्पत्तिले विद्यालयका लागि ३० थान विभिन्न प्र्रजातिका फुलका बिरुवा पनि हस्तान्तरण गरेको छ । सहयोग रकम र बिरुवा हस्तान्तरण कार्यक्रममा श्रमिक मावि पूर्वविद्यार्थी समाजका संयोजक सुरेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।