शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले केही दिनअघि जिल्लास्तरीय विज्ञान सामग्री प्रदर्शनी आयोजना ग¥यो । जिल्लाका स्थानीय तहबाट छानिएर आएका विद्यालयका विद्यार्थीले निर्माण गरेको विज्ञान विषयसँग सम्बन्धित शैक्षिक सामग्रीको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरिएको थियो । प्रदेशस्तरीय प्रतिस्पर्धाका लागि जिल्लाको तर्फबाट सहभागी हुने विद्यालय छनौट गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा जम्मा २ वटा विद्यालय सहभागी भए । हेटौंडा उपमहानगरपालिकाको एउटा संस्थागत विद्यालय र इन्द्रसरोवर गाउँपालिकाको एउटा सामुदायिक विद्यालय प्रदर्शनीमा सहभागी भएका हुन् । प्रतिस्पर्धात्मक प्रदर्शनीमा २ वटा विद्यालयमात्र सहभागी भए पनि स्वभाविकरुपमा एउटा प्रथम र अर्को द्वितीय भए । पुरस्कृत विद्यालयहरुले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पनि पाए ।
५ सय भन्दा बढी विद्यालय रहेको मकवानपुरमा माध्यमिक विद्यालयमात्रै पनि एक सय ४० भन्दा धेरै छन् । तर, शिक्षा विकास तथा समन्वय इकाईले आयोजना गरेको जिल्लास्तरीय कार्यक्रममा दुईवटा विद्यालयमात्र सहभागी हुनु लाजमर्दो विषय बनेको छ । एक त जिल्लास्तरीय प्रतियोगितात्मक प्रदर्शनी र अर्को प्रदेशस्तरीय प्रतिस्पर्धाका लागि छनौट गरिने कार्यक्रममा दुईवटा मात्र विद्यालयले भाग लिनुले थुप्रै प्रश्नहरु जन्माएको छ । विज्ञान विषयको शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रमको उद्देश्य के थियो ? कार्यक्रममा सहभागी हुन कुन माध्यमबाट कसरी विद्यालयहरुलाई जानकारी गराइएको थियो ? विद्यालयहरुले कार्यक्रमको जानकारी नपाएका कारणले सहभागी नभएका हुन् कि अन्य कुनै कारण थियो ? प्रतियोगितात्मक कार्यक्रममा न्यूनतम कति विद्यालय सहभागी हुनुपथ्र्यो ? सहभागी विद्यालय न्यून भएपछि कार्यक्रम केही पछाडि सार्न किन सकिएन ? कार्यक्रम कुन समयमा गर्नुपर्ने थियो वा गर्नु उपयुक्त हुने थियो ? कार्यक्रमको बजेट कति थियो ? दुईवटा विद्यालयको सहभागितामा कार्यक्रम गर्दा कार्यक्रमले राखेको लक्ष्य तथा उद्देश्य पूरा भयो कि भएन ? जस्ता धेरै प्रश्नको उत्तर खोज्नुपर्ने देखिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईको भनाइमा यो प्रदर्शनी राष्ट्रपति रनिङ शिल्ड खेलकुदजस्तै पालिका, जिल्ला, प्रदेशस्तरमा छनौट हुँदै केन्द्रीयस्तरसम्म सञ्चालन हुनेछ । स्थानीय तहले प्रदर्शनी आयोजना नगरेका कारण जिल्लाले आयोजना गरेको कार्यक्रममा दुईवटा मात्र विद्यालय सहभागी भएको समन्वय इकाईको भनाइ छ । यसबाट स्थानीय तहले किन कार्यक्रम गरेनन् ? भन्ने प्रश्नमात्र उब्जिएको छैन, स्थानीय तह र समन्वय इकाईबीच समन्वय र सहकार्य हुन नसकेको स्पष्ट पारेको छ । स्थानीय तहलाई कहिलेसम्म प्रदर्शनी आयोजना गर्ने समय तोकिएको थियो वा थिएन ? स्थानीय तहमा प्रदर्शनी आयोजनाका लागि बजेट विनियोजन भएको थियो वा थिएन ? त्यसको जवाफ समन्वय इकाई वा सम्बन्धित स्थानीय तहले दिनुपर्छ ।
विद्यार्थीको प्रतिभालाई उजागर गर्ने, विद्यार्थीलाई सिर्जनशील बनाउने, विद्यार्थीमा विज्ञानका विषयवस्तुको खोजी तथा प्रयोगको व्यवहारिक ज्ञान दिने उद्देश्यले यस्ता कार्यक्रम हुने गरेका छन् । यसअघि हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको विज्ञान विषयको शैक्षिक सामग्री प्रदर्शनीमा पनि अत्यन्तै न्यून विद्यालयको मात्र सहभागिता थियो । तर, हेटौंडा उपमहानगरपालिकाकै वडा नम्बर ४ र १५ ले पछिल्लो एक महिनाभित्र आयोजना गरेको शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा वडाका सबैजसो विद्यालयको सहभागिता थियो । बढीभन्दा बढी विद्यालयलाई सहभागी गराएर गर्नुपर्ने यस्ता कार्यक्रम एक–दुई विद्यालयको सहभागितामा गरिँदा कार्यक्रम प्रभावकारी हुन सक्दैन । जम्मा दुईवटा विद्यालयबीच प्रतिस्पर्धा भएर पहिलो र दोस्रो पुरस्कार लिँदा सहभागी विद्यालय र विद्यार्थी पनि उत्साहित बन्न सक्दैनन् भने कार्यक्रमको उद्देश्य पनि पूरा हुन सक्दैन । यसरी कार्यक्रम गर्दा बजेटको सदुपयोग नहुनेमात्र होइन, कार्यक्रम नै औचित्यहीन हुनेतर्फ आयोजक गम्भीर बन्नु आवश्यक छ ।