देवप्रसाद श्रेष्ठ ।

केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेर बहादुर देउवा, माधव कुमार नेपाल, बाबुराम, बामदेव, महन्थ ठाकुर, उपेन्द्र यादव, लगायत ठुला नेताहरुले बिगतमा देश र जनताका लागि गरेको त्याग तपस्या निश्चय नै अतुलनीय छ । एकताका यी नेताहरुप्रति अत्यन्त ठुलो सम्मान थियोे । यिनीहरुको आगमनमा हजारौं जनताहरु स्वतःस्फूर्त उपस्थित हुन्थे ।

नजिक पुग्न भेटघाट गर्न हानथाप गर्थे । जनताहरुका आस्था जतापट्टी भएपनि आदर र सत्कारका साथ कुरा सुन्थे । परिवर्तनका भागिदार जनताहरु अब देशमा केहि हुन्छ, जनताले सुख पाउने दिन आउँछ भनेर आशावादी थिए । तर, आज देश धोती–न–टोपीको अवस्थामा पुग्न लागेको चर्चा परिचर्चा छ । सारा नेपालीको मन पर्लक्क पल्टिएको छ । यी नेताहरूको नामै सुन्न चाहँदैनन् । अपशब्द पनि बोल्छन् । सामाजिक सञ्जालमा बिरोध र घृणाले रंगिएको छ । यी नेताहरू मात्र होइन अहिलेका कुनै पनि नेता र पार्टीहरुप्रति वितृष्णा र रोश उकेल्छन् । यी ठुला नेताहरुको पार्टीभित्र रहेका सुविधाभोगी नेता र कार्यकर्ता बाहेक इमानदार कोहि पनि सन्तुष्ट छैनन् ।

२०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसको बहुमतीय सरकार गिरिजाप्रसाद कोइरालाले विघटन गरेपछि मनमोहन अधिकारीको अल्पमतको सरकार गठन भयो । त्यो सरकारले सुशासनको केही छनक दिन खोजेको थियो । आफ्नो गाउँ आफैं बनाउँ, वृद्धवृद्धाहरुलाई भत्ता वितरणको कार्यक्रम राम्रो सुरुआत थियो । तर यो पनि अल्पमतको सरकार भएकोले यसलाई पनि अविश्वासको प्रस्ताव ल्याएर ढाले ।

त्यसपछि बनेको सरकारलाई बहुमत पु¥याउन सांसद खरिद–बिक्रि हुन शुरु भयो । सांसद किनबेचमा नैतिक–अनैतिक जे पनि हुन थाल्यो । यहीँबाट राजनीतिमा विकृति बिसंगति सुरु हुन थाल्यो । सरकार गठनमा सांसदहरुलाई राजश्व मिनाहा गरेर महङ्गा गाडी प्राडो, पजेरो दिनेदेखि होटलमा बस्ने सुबिधा र बैंकक र हङ्कङसम्मको यात्रा गराई सत्ता कब्जा गरे ।

नैतिक–अनैतिक जे गरेर पनि सत्ता टिकाउन पैसा कसरी जम्मा गर्ने, यहि मेसोमा सबै पार्टीका नेताहरू पार्टीको नीति र सिद्धान्तलाई बिर्सेर कमिशनखोर र तस्करको माखे साङ्लोमा जाकिँदै गए । सत्तामा पुग्ने र नपुग्ने दुबै मिलिजुली सजिलोसँग पैसा कमाउन नियम, कानुनहरु आफुअनुकुल बनाउन थाले । हुँदा–हुँदा सत्तामा बसेर मह चाट्न पल्केकाहरुले नेपाली नागरिकलाई शरणार्थी बनाएर बेच्नसम्म भ्याए । लगातारको सुन तस्करी, बालुवाटारको सरकारी जग्गा, गिरि बन्धु टि–स्टेटको जग्गा, गोकर्ण रिसोर्टको जग्गा तारागाउँ रिजेन्सीको जग्गा, चेइज जहाज काण्ड, बोइङ काण्ड, ओम्नि काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, टेराम्याक्स काण्ड, बाँसबारीको जग्गा काण्ड, यसरी अनेकौं काण्डै–काण्ड गरी अकुत सम्पत्ति कमाए । ठेकेदारहरुसँग साँठगाँठ गरेर दुई बर्षमा सक्किने काम दशौं बर्षमा पनि पटक–पटक म्याद थप्दै लागत बढाउँदै देशभरिका बाटा–घाटा, पुल–पुलेसा र निर्माणको काम असरल्ल बनाए । नेताहरुले कमाउन थालेपछि टाठा बाठा घुस्याहा कर्मचारीहरु पनि नेतालाई रिझाएर बिदेशी बैंकमा पैसा कुम्ल्याउन र थन्क्याउन भ्याए । अहिलेको भ्रष्टाचारको शृङ्खलाबद्ध आइरहेको घटनाले भ्रष्टाचार कहाँ छैन भनेर बत्ती बालेर खोज्नुपर्ने भएको छ ।

डाडु–पन्यु आफ्नो हातमा हुने शक्तिशाली नेताहरूले आफ्ना श्रीमती, नीतिगत भ्रष्टाचार गर्ने, प्रधानमन्त्रीहरु सुन तस्करसँग प्रत्यक्ष जोडिएका माथिल्ला नेताहरु र पार्टीका मन्त्रीहरुलाईसम्म जोगाए । गरिब, किसान, मजदुर र साधारण जनतालाई भ¥याङ बनाएर सत्ता र शक्तिमा पुगेका नेताहरूले आफ्ना लागि आलिसान महल बनाए । जग्गा जमिन जोडे । छोराछोरीलाई विदेशमा पढ्न पठाए । ठेकेदार, व्यापारीहरुसँग जोडिएर लगानी गरे । तर देश र जनतालाई खोक्रो पारे । देशलाई खोक्रो बनाउनमा यिनै नेताहरूको हात छ । जनता देश कंगाल बनाउने भ्रष्ट नेता र भ्रष्टाचारीहरुलाई कठ्घरामा कोचेको हेरेर राहत लिन चाहन्छन् । तर नीतिगत भ्रष्टाचारको नियम कानुन यस्तो बनेको छ कि यिनिहरु कोहि पनि पर्दैनन् । परिहाल्यो भने पछि सत्ता र शक्तिको भरमा उम्काई हाल्छन् ।

सत्ता, शक्ति र पैसाले चुनाव जित्ने र जिताउने परिपाटी रहेसम्म यो अव्यवस्था हट्दैन । आफ्नै ल्याकतले चुनाव जितेका नेता, कार्यकर्ताहरु पनि पैसाको चलखेल अगाडि तेजोबध बनेका छन् । हामीले सर्बहारा वर्गका किसानका, जनजातिका, प्रजातन्त्रवादीका, मधेसी समुदायका थुप्रैलाई यो ३० वर्षको अन्तरालमा सांसद बनायौं । अपवाद बाहेक थुप्रैले शहरहरुमा राम्रा–राम्रा घरहरु बनाए । बिदेश घुमे । च्याँसे अनुहार पुष्ट बनाए । गाडी र कार जोडे ।

गाउँ–घर आउँदा नाक, मुख समेत छोपिने गरी माला लगाए । सत्तामा हुँदा जसरी हुन्छ कमाउधन्दा गर्ने, आसे–पासे पोस्ने, प्रतिपक्षमा हुँदा भागबण्डा पुगेन भनेर विरोध गर्ने धम्क्याउने घुक्र्याउने अहिलेसम्म हाम्रा नेताहरूले गरेका पुरुषार्थ यहि मात्र हो । रोजगारी छैन, व्यापार छैन, उद्योगधन्दा चल्दैन । गाउँमा युवाहरु विदेश भासिए । कृषि व्यवसाय चल्दैन । काम गर्नेको अभावमा खेतबारी बाँझो छ ।

२०४६ सालको परिवर्तनपछि निर्दलीय पञ्चायतबाट उकुसमुकुसमा परेका जनताले प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, संगठित हुने अधिकार, बन्द व्यापार, वित्तीय व्यवस्था सहकारी, विदेशी व्यापारमा सहज पहुँच र यावत कुरामा सुविधा भएपछि राम्रा मान्छेले राम्रा काम र कमाउधन्दा गर्नेहरूले चोर बाटोको खोजी गरे । यसैको उपज हो चोरी–निकासी, तस्करी, बैंक र सहकारी घोटाला, लूट र भ्रष्टाचारको अनेकौं क्रमबद्ध शृङ्खला । यस्ता क्रियाकलापले यो अबधीमा चारैतिर जनता निराश छन् । नेताहरुप्रति तीव्र आक्रोश छ । कोहि व्यवस्था नै बदल्नु पर्दछ भन्दै आन्दोलनमा होमिएका छन् । एकथरी राजा ल्यायर नारायणहिटिमा राख्ने बित्तिकै रामराज्य हुन्छ भनेर फलाकी रहेका छन् । अर्काथरी हिन्दू राज्य घोषणा गरेपछि सबथोक ठिक हुन्छ भछन् ।

एकथरी सामाजिक सञ्जालमा छाइरहने पद र प्रतिष्ठा नपाएका बुद्धिजीवीहरु कहिले ठेगानका कुरा गर्छन् भने बेला–बेलामा निराशा पनि पोखी रहन्छन् । जे भए पनि अहिले सत्तामा बस्नेहरुको अयोग्यता भ्रष्टाचार र मनमानीले जनता चारैतिर वाक्क दिक्क भएका छन् । यो असन्तोष र बिद्रोहलाई आम नेपालीले गम्भीर भएर सोच्नै पर्छ । अहिलेकै नेताहरूले हाँकिरहेकोे यो अस्थिरता र अराजकता रहिरह्यो भने देश कहाँ पुग्छ, हामी कहाँ पुग्छौं । मौजुदा ठुला पार्टीका नेताहरूले इतिहासलाई सम्झेर विवेक पु¥याएर न सच्चिने हो भने यी पार्टीहरु पनि विस्तारै प्रजा परिषद् बिलाए झैं बिलाएर जानेछन् । देशमा थुप्रै पार्टीहरु छन् । अहिलेकै चुनाव पद्दति र सत्ता कब्जा गर्ने नीति रहिरह्यो भने फेरि पनि कसैको बहुमत पुग्दैन । त्यसपछि हुने फेरी अस्थिरता नै हो । थुप्रै समूहमा विभाजित बामपन्थीहरुका नीति र विचारमा विभेद भएपनि लक्ष्य भने एउटै हो । त्यसरी नै लोकतन्त्रवादीहरु पनि विभिन्न समूहमा अलग–अलग झण्डा लिएर विभाजित भएका छन् । यहि मेलो परम्परावादीहरुमा पनि छ । सबै पार्टीहरु सच्चिएर अगाडि बढ्नुको विकल्प छैन । वास्तवमा देश बनाउने पार्टीले नै हो । सिद्धान्तनिष्ठ नेता र कार्यकर्ताले नै हो । अन्यथा न रहे बाँस, नबजे बाँसुरी । यो भ्रष्टाचार, यो अस्थिरता, लथालिङ्ग देशको भताभुङ चाला कतिञ्जेलसम्म रहिरहने हो थाहा छैन ।