हेटौंडाः बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन २१ गतेदेखि हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले एक सूचना प्रकाशन गर्नुहुँदै यही फागुन २१ र २२ गते चितवनको भरतपुरमा प्रतियोगिता हुने जानकारी गराउनुभएको हो ।

आगामी फागुन २८ गतेदेखि ३० गतेसम्म केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएकाले प्रदेशस्तरीय छनौट प्रतियोगिता फागुन २१ र २२ गते हुने सूचनामा उल्लेख गरिएको छ । जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुको विवरण ५ दिनभित्र परिषदमा उपलब्ध गराउन सदस्यसचिव भण्डारीले जारी गर्नुभएको सूचनामा अनुरोध गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरुको आवश्यक कागजातसमेत ल्याउन सूचनामा भनिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधनसहित) को अनुसूची–१ बमोजिमको फारम भरेर खेलाडीले नागरिकता÷जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्यरुपमा ल्याउन सूचनामा उल्लेख गरिएको छ ।