हेटौंडाः नेपाल खेलकुद महासंघको १४ औँ स्थापना दिवसको अवसरमा भएको जिल्लास्तरीय क्योकोसिन कराँते प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता भएको हो ।

पुरुषतर्फको २५ केजी तौल समूहबाट स्वीकृत खतिवडा प्रथम, रिसुक राई द्वितीय र समीर थिङ तृतीय भएका छन् । पुरुषतर्फको ३० केजी समूहबाट अंकित बल प्रथम, ओम रुम्बा द्वितीय, अर्जुन थिङ तृतीय र कृषङ सिंह ठकुरी चौथो भएका छन् । पुरुषतर्फ ३५ केजी तौल समूहबाट आशीष खड्का प्रथम, शिव वाईबा द्वितीय, आवेग लोप्चन तृतीय र निर्माण लामा चौथो भएका छन् । पुरुषतर्फको ४५ केजी तौल समूहबाट समीर विश्वकर्मा प्रथम, शिशिर मगर द्वितीय, सजन घिसिङ तृतीय र सुवित महतो चौथो भएका छन् । महिलातर्फको ३० केजी तौल समूहबाट रशु श्रेष्ठ प्रथम, सुप्रिया खतिवडा द्वितीय, सविना गोले तृतीय र सोमिया लामा चौथो भएकी छिन् । महिलातर्फ ३५ केजी तौल समूहबाट युना आले मगर प्रथम, विमला मोक्तान द्वितीय, शिखा चौलागाईं तृतीय र सुविना गोले चौथो भएकी छिन् । महिलातर्फको ५० केजी तौल समूहबाट साधना लोप्चन प्रथम, सुजिला लामा द्वितीय, मेलिना चौलागाईं तृतीय र दीपिका मोक्तान चौथो भएकी छिन् ।

प्रतियोगितामा महिला तथा पुरुष गरी करिब ७० जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीहरुलाई शनिबार हुने नगर अधिवेशनमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । पछिल्लो समय फुटबल खेललाई मात्र प्राथमिकता दिएकाले कराँतेको नयाँ जुनियर खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ । आर्थिक स्रोतको कमी भएता पनि कराँते खेलको विकास गर्न स्थानीय तहबाट खेलाडीलाई कराँतेको महत्वबारे जानकारी दिनका लागि पनि प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष सविन मोक्तानको सभाध्यक्ष तथा खेलकुद महासंघका केन्द्रीय महासचिव धरम लामाको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, पूर्वअध्यक्ष सानु लामा, हेटौंडा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, नगर खेलकुद विकास समितिका पूर्वअध्यक्ष चन्द्र शाहीलगायतको उपस्थिति रहेको थियो ।