हेटौँडाः शिक्षक पदपूर्तिको प्रक्रियामा हेटौँडा उपमहानगरपालिकाले सिफारिस दिन रोकेको समाचार प्रकाशन भएलगत्तै उपमहानगरले सिफारिस दिएको छ । उपमहानगरपालिकाको कार्यालय अगाडि नै रहेको सिद्धार्थ माविको गत कात्तिक महिनादेखि रिक्त दरबन्दीमा शिक्षक पदपूर्ति गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाईलाई सिफारिस नदिएर विद्यालयलाई समस्या भइरहेको समाचार बिहिबार समृद्ध समाज समाजको अनलाइन संस्करणमा प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएलगत्तै बिहिबार दिउँसो हेटौँडा उपमहानगरपालिकाको विज्ञ सल्लाहकार कृष्ण धितालले सिद्धार्थ मावि व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेलाई फोन गरेर सिफारिस पत्र लिन आउन जानकारी गराउनुभएको सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभएको छ । सिद्धार्थ माविमा प्रावि तहका ३ जना शिक्षकको दरबन्दी रिक्त छ ।
गत पुसमा एकजना शिक्षकको अनिवार्य अवकास र गत माघमा दुईजना शिक्षकले स्वेच्छिक अवकास लिनुभएको थियो । स्थायी दरबन्दी रिक्त हुँदा विद्यालयको नियमित पठनपाठनमा समस्या भइरहेको छ । कक्षा १२ सम्म पठनपाठन हुने सिद्धार्थ माविमा दुई हजार दुई सय ६७ जना विद्यार्थी अध्ययनरत छन् । सिद्धार्थ माविमा रिक्त रहेको ३ सहित ३६ जना स्थायी दरबन्दीका शिक्षक छन् भने निजी स्रोतका १४ जना शिक्षक कार्यरत छन् । यस्तै विद्यालयले १२ जना कर्मचारी निजी स्रोतका छन् ।