हेटौंडाः बागमती प्रदेशमा ९ प्रतिशत बालबालिकाहरु पूर्णखोप लगाउन छुटेका छन् । एनडीएचएस २०२२ अनुसार बागमती प्रदेशमा ५ महिनादेखि ५ वर्ष मुनिका ९ प्रतिशत बालबालिकाले पूर्णखोप नलगाएका हुन् ।

बिहीबार हेटौंडा–४ स्थित सामना होटलमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८० को बारेमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका वरिष्ठ मेडिकल सुपरिटेडेन्ट डा. नवीन दर्नालले फागुन १३ गतेदेखि १९ गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई लगाइने खोपको बारेमा बताउनुभयो । बागमती प्रदेशले ८ लाख ४९ हजार ३ सय २५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । मकवानपुरका ३ लाख २ हजार ६ सय २५ जना बालबालिका रहेका छन् । दादुरा–रुबेला खोप अभियानको मुख्य उद्देश्य सन् २०२६ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने रहेको छ ।

कार्यक्रममा डा. दर्नालले बागमती प्रदेशमा ९ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको जानकारी दिँदै ९५ प्रतिशत हुनुपर्नेमा ८३ प्रतिशत बालबालिकाले मात्र पूर्णखोप लगाएको बताउनुभयो । एनडीएचएस २०२२ अनुसार बागमती प्रदेशमा १६ प्रतिशत बालबालिका पूर्णखोपबाट वञ्चित भएका छन् भने ४ प्रतिशत बालबालिकाहरुले एउटा डोज पनि लगाएका छैनन् । राष्ट्रमा पूर्णखोप लगाउने बालबालिकाको संख्या ५२ प्रतिशत रहेको छ । ९५ प्रतिशत बालबालिका कभरेज हुनुपर्नेमा बागमती प्रदेशमा कभरेज कम भएको छ भने सबै तहमा एकरुपता छैन ।
बागमती प्रदेशले लक्षित उमेर समूहका धेरै बालबालिकाहरु विद्यालयमा हुने भएकाले प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र चितवन जिल्लाका विद्यालयलाई प्राथमिकतामा राखी विभिन्न आधारमा खोप केन्द्र स्थल निर्धारण गरिनेछ । साथै, अन्य ९ वटा जिल्लाका बालबालिकालाई वडाको स्वास्थ्य चौकीमा खोप लगाइनेछ । २६ प्रतिशत बालबालिकाले एक मात्रा खोप पनि नलगाएको बताउँदै डा. दर्नालले दादुरा संक्रमण व्यक्तिहरुमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिका रहेको बताउनुभयो ।

यस्तै, १५ वर्ष मुनिका १४ प्रतिशत बालबालिकाको मृत्युको कारण निमोनिया रहेको छ भने विगत ३ वर्षमा पीसीभी खोपको कभरेज कम रहेको डा. दर्नालको भनाइ छ । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्री खड्काको प्रमुख आतिथ्य रहेको थियो भने स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार, विश्व स्वास्थ्य संगठन नेपालका प्रदेश स्वास्थ्य अधिकृत हरि भुसाल, विश्व स्वास्थ्य संगठन नेपालको टिमलगायतका स्वास्थ्य प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
विभिन्न समुदायमा खोप लगाउन छुटेको हुँदा यसपटक कोहि बालबालिकालाई नछुटाई खोप लगाउने प्रयास गर्ने प्रमुख अतिथि खड्काले जानकारी दिनुभयो । १३ गतेबाट हुने खोप अभियानको तयारी भइसकेको कार्यक्रमका अध्यक्ष तिवारीले बताउनुभयो । फागुन १३ गते बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सर्वशक्ति विद्यालय, इच्छाकामना, कुरिनटारमा कार्यक्रमको उद्घाटन गर्नु हुनेछ ।