फाइल तस्वीर ।

हेटौंडाः दादुरा–रुबेला विरुद्धको खोप कार्यक्रम यही फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । मकवानपुर जिल्लामा ५ सय २० वटा खोप केन्द्रबाट खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानमा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने छ ।

बुधबार स्वास्थ्य कार्यालय मकवानपुरले दादुरा–रुबेला खोप कार्यक्रमबारे सञ्चारकर्मीलाई अभिमुखीकरण गराएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले खोपका कारण भइरहेको मृत्युलाई कम गर्ने उद्देश्यले अभियान सञ्चालनमा आएको बताउनुभयो । कार्यक्रममा प्रमुख मिजारले दादुरा–रुबेला खोप अभियान २०८०/०८१ को प्रस्तुतीका साथ अभियानको तयारीबारे जानकारी दिनुभएको छ ।

पहिले लगाउन छुटेका खोपमध्ये खोपको विवरण खोप कार्ड भएमा डिपीटी, हेपाटाइटिस बी, पिसिभी र आईपिभी खोप पनि लगाउन पाइने बताइएको छ । मकवानपुरमा खोप लागाउनका लागि हेटौंडा उपमहानगरपालिकामा एक सय २८ वटा खोप केन्द्र तोकिएको छ । यस्तै, थाहा नगरपालिकामा ४३ वटा, इन्द्रसरोवर गाउँपालिकामा १६ वटा, भीमफेदी गाउँपालिकामा ३८ वटा, कैलाश गाउँपालिकामा ५१ वटा खोप केन्द्र तोकिएको छ ।

मनहरी गाउँपालिकामा ४८ वटा, रक्सिराङ गाउँपालिकामा ५३ वटा, मकवानपुरगढी गाउँपालिकामा ३९ वटा, बकैया गाउँपालिकामा ५४ वटा र बागमती गाउँपालिकामा ५० वटा खोप केन्द्र तोकिएको छ । धनुषा, महोतरी, रौतहट, पर्सा, नुवाकोट बाहेक हालसम्म ७२ जिल्ला र ६ सय ३३ वटा स्थानीय तहमा खोप कार्यक्रम घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दादुरा–रुबेला खोप अभियानका लागि तीन सय ४० जना स्वास्थ्यकर्मीलाई तामिल दिइएको प्रमुख मिजारले बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइ, जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको पनि उपस्थिति रहेको थियो ।