हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा आगामी मंगलबार प्रधानाध्यापक बैठक हुने भएको छ । प्रधानाध्यापक बैठक महिना–महिनामा बस्ने गरेको शिक्षा शाखा प्रमुख दीपिन्द्र अधिकारीले जानकारी दिनुभयो ।
हरेक महिना प्रधानाध्यापक बैठक बस्दा विद्यालयमा सुधार गर्नुपर्ने कुराहरु सजिलै थाहा पाउन सकिने अधिकारीले बताउनुभयो । विद्यालयको अवस्थाबारेमा सजिलै थाहा पाउन सक्ने, एक विद्यालयले अर्को विद्यालयको बारेमा थाहा पाउने र त्यस विद्यालयको असल अभ्यास आफ्नो विद्यालयमा पनि लागू गर्न सकिने उहाँको भनाइ छ । यसरी बैठक राख्दा विद्यालयमा छिट्टै सुधार आउने गरेको उहाँले जानकारी दिनुभयो ।
कैलाश गाउँपालिकामा ४९वटा विद्यालय रहेका छन् । ६ वटा माध्यमिक, ४ वटा आधारभूत र ३९ वटा प्राथमिक विद्यालय रहेका छन् । सबै तहका प्रधानाध्यापकहरु मंगलबार हुने बैठकमा सहभागी हुनेछन् । बैठकमा परीक्षा समिति निर्माण र शैक्षिक क्यालेन्डर निर्माणका विषयमा छलफल गरिनेछ ।