साधु सन्तले पनि भन्ने गर्छन् अरे हाम्रो परीक्षा नलिनु भनेर । आखिर किन हामी परीक्षादेखि यति डराउँछौ ? परीक्षाको भुत के हो आखिरमा ?
परीक्षाको अवधारणा धेरै पुरानो हो र पूर्वकालिन समयदेखि नै परीक्षा दिने परम्परा चल्दै आएको छ । जिन्दगीको हरेक क्षेत्रमा परीक्षाको सामना गर्नुपर्ने हुन्छ । तर पनि हामी परीक्षा शब्ददेखि नै डराउँछौँ । विशेषगरी स्कुल–कलेजको परीक्षा भन्ने बित्तिकै त झन् ज्वरो आउँछ । स्कुलदेखि अहिले मास्टर्स लेभल पुगिसक्दा पनि मलाई भने यो परीक्षाको डरले छाड्न सकेको छैन । परीक्षा आउन एक महिना जस्तो बाँकी छ तर परीक्षाकै तनावले परीक्षाकै तयारी गर्न नसकिरहेको अवस्था छ मेरो पनि । भर्खरै पढ्यो भर्खर नै बिर्सन्छु पानीमा नाम लेखेको जस्तो ।
नम्बर कसरी धेरै ल्याउने, फेल हुने हो कि, अरुले आफुलाई टप्छन् कि, आफुलाई पढाउने प्राध्यापकहरुको आफुप्रतिको जुन अपेक्षा र आशा छ त्यसमा खडा उत्रिन नसक्ने हो कि, घरमा के भन्लान् जस्ता विविध तरंगहरुले हामी विद्यार्थीको मन र मस्तिष्कमा डमरु बजाउन थाल्छन् र हामीमा उदासीनता ल्याउँछ । दिनमा त चैन छैन रातमा समेत परीक्षाको भुतले छोड्दैन हामीलाई । भयानक सपनाहरूले सताउँछ र हरेक दिन दिइने सल्लाहको खुराकले पनि हामीलाई विचलित बनाउँछ । परीक्षा अघि हामीले आनन्द उन्मुख गतिविधिहरू स्थगित गर्नुपर्ने हुन्छ । हामीहरुले आफ्नो योजना, पिकनिक, घुमघाम र नवीनतम चलचित्रहरू लागि जाने कुराहरुलाई क्यान्सिल गरेर चार पर्खालमा सीमित रहनुपर्छ र गर्ने चाहिँ के भन्दा आफ्नै पुस्तकहरूसँग व्यस्त रहने । यी सम्पूर्ण कुराहरुको सिधा असर हाम्रो मस्तिष्कमा पर्छ । जसले गर्दा हाम्रो मस्तिष्कले खुलस्त भएर तार्किक रुपमा सोच्न सक्दैन र यसले हाम्रो जीवन नै निराशाजनक बनाइदिन्छ ।
खासमा परीक्षालाई हामीले जति जटिल तरिकाले लिन्छौँ त्यो त्यति नै जटिल बन्ने रहेछ र दिमागमा अनेकौं तरंग खेल्ने अनि त्यसपछि बिस्तारै यसले उग्ररुप लिने रहेछ । वास्तवमै परीक्षाको बारेमा मन र मस्तिष्कमा उठ्ने यस्ता नकारात्मक तरंगले व्यक्तिको उर्जा कम गर्ने, मानसिक पीडा उत्पन्न गर्ने र व्यक्तिलाई उचित र तार्किक रूपमा सोच्न असक्षम बनाउने रहेछ । न दिनमा भोक न रातमा निन्द्रा भनेझैं ! र परीक्षा भुत भनेको त हाम्रो मनको डरले पैदा गरेको यिनै तरंगहरुको स्वरुप रहेछ । जुन कुरालाई वास्तवमै मैले महसुस गरिरहेकी पनि छु ।
परीक्षाको भुतलाई भगाउन खासै धेरै कष्ट उठाउन नपर्ने रहेछ । परीक्षालाई सरल तरिकाले लिने, अरुको अर्ती उपदेशलाई नि मनन् गर्ने तर धेरै नसोच्ने, समयमा खाने र सुत्ने, समय तालिका बनाएर पढ्ने, नआत्तिने, योगा गर्ने, साँझपख हावा खान घर बाहिरतिर निस्कने जस्ता कार्यहरू गरियो भने मन र मस्तिष्कमा छुट्टै सकारात्मक उर्जा भरिदोँरहेछ । त्यसपछि मन नि प्रफुल्ल हुने अनि मस्तिष्क नि सक्रिय ।