सामुदायिक विद्यालयमा नर्सको व्यवस्था हुन थालेको करिब करिब ५ वर्ष भएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट नमुनाको रुपमा ‘एक विद्यालयः एक नर्स’ कार्यक्रम सुरु गरेको हो । सुरुको वर्ष प्रदेशका २० वटा विद्यालयमा नर्सको व्यवस्था गरी यो कार्यक्रम सुरु गरेको थियो । प्रदेश सरकारका सिमित सफल कार्यक्रमध्ये यो एउटा हो । नमुनाका रुपमा सुरु गरिएको कार्यक्रम प्रभावकारी भएपछि बागमती प्रदेश सरकारले वर्षेनि यसलाई विस्तार गरिरहेको छ । दोस्रो वर्ष थप एक सय एक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गरेको प्रदेश सरकारले तेस्रो वर्ष थप २ सय ३७ विद्यालयमा यो कार्यक्रम विस्तार गरेको थियो । प्रदेशका १३ जिल्लाका एक सय १९ वटै स्थानीय तहमा समानुपातिकरुपमा विद्यालय नर्सको दरबन्दी कायम गरी प्रदेश सरकारले स्टाफ नर्स नियुक्ति गर्दै आएको छ ।
देशमा अझै पर्याप्त स्वास्थ्य सुविधा छैन । ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधाको न्यून पहुँ चकै कारण कयौं बालबालिका विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त छन् । विद्यालय आउने बालबालिकामा स्वास्थ्य, पोषण तथा सरसफाइसम्बन्धी विभिन्न समस्या देखिने गरेको छ । यसले विद्यालयमा विद्यार्थीको नियमिततामा असर परिरहेको छ भने बालबालिकाको सिकाई स्तर कमजोर बनिरहेको छ । यस्तो परिस्थितिमा विद्यालय नर्स बालबालिका, अभिभावक, शिक्षक, विद्यालय सबैका लागि सहयोगी बन्ने गरेको छ । विद्यार्थीको स्वास्थ्य, सरसफाई र पोषणसम्बन्धी व्यवहार परिवर्तनका लागि विद्यालय नर्सको भूमिका महत्वपूर्ण देखिएको छ । विद्यालयका साना बालबालिकादेखि अभिभावकसम्म जोडिएर विद्यालय नर्सले काम गरिरहेका छन् । विद्यालयमा विद्यार्थीको प्राथमिक उपचार, परामर्श, प्रेषण सेवा, विशेष आवश्यकताको सेवा र समसामयिक विषयका स्वास्थ्य सेवा दिई व्यवहारमा परिवर्तन गरी स्वास्थ्यमा सुधार ल्याउन विद्यालय नर्सले महत्वपूर्ण सहयोग पुर्याइरहेको पाइन्छ ।
किशोरकिशोरीको स्वास्थ्यमा सुधार र पोषणसम्बन्धी समस्याको समाधान र रोकथामका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । दिवा खाजा कार्यक्रम, आइरन/फोलिक एसिड चक्की वितरण कार्यक्रम, जुकाको औषधी वितरण कार्यक्रम, महिनाबारी भएका छात्राका लागि सेनेटरी प्याड वितरण कार्य क्रमजस्ता अनेकौं कार्य क्रमको सफल कार्यान्वयनका लागि पनि विद्यालय नर्सको भूमिका महत्वपूर्ण बनिरहेको छ । विद्यालयका शिक्षकहरु विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापमा केन्द्रित हुनुपर्ने भएका कारण सरकारले सञ्चालनमा ल्याएका स्वास्थ्यसम्बन्धी कार्यक्रममा पर्याप्त ध्यान दिन पाउँदैनन् । शिक्षकहरुलाई स्वास्थ्यसम्बन्धी विषयगत ज्ञान नहुने भएका कारण विद्यालयमा विद्यार्थी बिरामी हुँदा के गर्ने भन्ने समस्या पर्ने गरेको छ । विद्यालय नर्स भएको अवस्थामा कम्तिमा त्यस्ता विद्यार्थीको सामान्य स्वास्थ्य जाँच, हेरचाह र आवश्यकताअनुसार अस्पताल लैजानसमेत सहज बनिरहेको छ ।
विद्यार्थी, शिक्षक, अभिभावक सबैलाई प्रत्यक्षरुपमा लाभ पुुग्ने विद्यालय नर्स सबै विद्यालयमा आवश्यक छ । विद्यालयमा शिक्षक, कर्मचारीजस्तै नर्सको व्यवस्थाले पठनपाठनलाई सहज बनाउन सहयोग पुग्दछ । विद्यालय नर्सको व्यवस्थापनमा प्रदेश सरकारसँगै संघीय सरकार र स्थानीय सरकारले पनि हातेमालो गर्नु आवश्यक देखिन्छ । विद्यालय समयभित्र विद्यार्थीलाई स्वास्थ्य शिक्षा तथा परामर्श प्रदान गर्नुका साथै आइपर्ने प्राथमिक उपचार र अन्य स्वास्थ्यसम्बन्धी आइपरेका कार्य गर्ने नर्सको व्यवस्था सबै विद्यालयमा हुनुपर्छ । बागमती प्र दे श सरकारले सु रुवात गरे को विद्यालय नर्स प्रभावकारी भएपछि अन्य प्रदेशले पनि यसलाई कार्यान्वयनमा ल्याएका छन् । प्रदेश सरकारको सफल कार्यक्रमको रुपमा मानिएको विद्यालय नर्स कम्तिमा प्रदेशका सबै माध्यमिक विद्यालयमा विस्तार गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था गर्नु उचित हुनेछ ।