हेटौंडाः नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाले वर्तमान सरकार विकासमा असफल भएको बताउनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेता थपलियाले ऐन निर्माण र विकास निर्माणमा प्रदेश सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको विकास बजेट खर्च निराशाजनक रहेको उहाँको भनाइ छ । सरकारले संसद् बैठक आह्वान गर्न नचाहेको उहाँको भनाइ छ । संसद् अधिवेशन अन्त्य गरेको ४ महिनासम्म पनि प्रदेशसभा बैठक बस्न नसकेको र ऐन निर्माणमा गति लिन नसकेको बताउँदै पहिलो कार्यकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेशसभाको दोस्रो कार्यकालको गति हेर्दा एकतिहाई काम पनि गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

एक विज्ञप्ति जारी गर्र्दै ‘दोस्रो कार्यकालको एकवर्ष बितिसक्दा प्रदेशसभाको जम्मा ५६ वटा मात्र बैठक बसेको छ । अघिल्लो वर्ष पनि वर्षे अधिवेशन बोलाउन नेकपा एमाले संसदीय दलले पटक–पटक माग गरिसकेपछि मात्र बोलाउने काम भयो । अहिले पनि वर्षे अधिवेशन अन्त्य गरेर निदाएको सरकारलाई अनौपचारिक तथा औपचारिकरुपमा पटक–पटक अनुरोध गर्दा पनि अधिवेशन नबोलाउने र विपक्षी दलका कारण अधिवेशन बोलाउन नपाएको गलत प्रचार गर्ने गरेकाले भ्रममा नपर्न अनुरोध गर्दछौँ’ भनिएको छ । ऐन निर्माणमा मात्र हैन सरकार विकास निर्माणमा पनि असफल रहेको उहाँको भनाइ छ ।

आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुनलाग्दा पनि हालसम्म ९ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गर्न नसकेको उहाँले दावी गर्नुभयो । दुग्ध उत्पादक किसानलाई दिँदै आएको अनुदान कटौती गर्दै सरकारले किसानप्रति देखाएको अनुदारवादी व्यवहार र किसानमारा क्रियाकलाप गरेको थपलियाले बताउनुभयो ।

‘समतामूलक विकासका लागि नेकपा एमालेले माग गरेका योजनाहरु आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुको साटो अख्तियारको पत्र देखाएर पन्छने तर रकमान्तर गरेर जथाभाबी रुपमा गठबन्धनकारी सरकारका केही प्रभावशाली मानिने मन्त्रीहरु र तिनका आसेपासेलाई मात्र बजेट बढिरहेको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ– ‘संसदमा पटक–पटक माननीयहरुले उठाएका सवालहरु, सरकार आफैंले गरेका प्रतिवद्धताहरु, प्रमुख प्रतिपक्षी र विपक्षी दलहरुले उठाएका आवाजहरु समेतलाई सम्बोधन गरेको छैन ।’

प्रमुख प्रतिपक्षी दल भएको हैसियतमा जनसरोकारका विषयलाई सम्बोधन गर्न, संघीयतालाई संस्थागत गर्न र सुशासन कायम गराउन सरकारलाई बारम्बार ध्यानाकर्षण एवम् दबाब दिइरहेको नेता थपलियाले बताउनुभयो । प्रतिपक्षले उठाएका जनताका मागहरुलाई सरकारले बेवास्ता गरिरहेको उहाँले टिप्पणीसमेत गर्नुभयो । उहाँले सरकारले मन्त्रीमुखी बजेट विनियोजन गरेको र कतिपय सांसदको क्षेत्रमा बजेट नभएको बताउनुभयो । नेता थपलियाले सरकारले छिटो हिउँदे अधिवेशन नबोलाए कानुनी तबरले अघि बढ्नेसमेत जनाएको छ ।