आँखा परीक्षणका क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र क्युर ब्लाइण्ड हिमालयन कन्ट्रयाक प्रोजेक्टको संयुक्त आयोजना विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा गएको शनिबारदेखि सुरु भएको निःशुल्क आँखा परीक्षण शिविरमा मंगलबारसम्म १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको हो ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३ सय २५ एस नेपाल, एरिया २ अन्तर्गत् क्रियाशील सम्पूर्ण लायन्स क्लब तथा लियो क्लबहरुको सहकार्यमा विभिन्न स्थानमा भएको आँखा परीक्षण शिविरमा २ सय ५० जना मोतिबिन्दुका बिरामीहरु पहिचान भएका छन् । पहिचान भएका सबै मोतिविन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा बुधबार र बिहीबार शल्यक्रिया गरिने लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३ सय २५ एस नेपाल, एरिया २ का एरिया चिफ जेपी यादवले बताउनुभयो । मोतिबिन्दुका बिरामीहरुको शल्यक्रिया, आवास, खाना, यातायातलगायत कुनै पनि खर्च नलाग्ने एरिया चिफ यादवले बताउनुभयो ।

लायन्स क्लवको बार्षिक भिजन कार्यक्रमअन्तर्गत् आँखा परीक्षण शिविर सञ्चालन गरिएको मुख्य कार्यक्रम संयोजक हरिवंश भेटवालले बताउनुभयो । स्रोत साधनको अभावमा मोतिबिन्दुका कारण दृष्टिबिहीन भएकाहरुलाई दृष्टि प्रदान गर्ने उद्देश्यले आँखा परीक्षण शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

मकवानपुर जिल्लाको शिखरकटेरी, पाथीभरा, बुढिचौर, राईगाउँमा आँखा शिविर भएको थियो । बारा जिल्लाको इनर्वासिरा, हरिपुर र हल्खोरिया एवम् सर्लाही जिल्लाको रामनगरमा आँखा परीक्षण शिविर सञ्चालन सञ्चालन गरिएको थियो । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३ सय २५ एस नेपालअन्तर्गत् रहेका क्लबहरुले स्थानीय क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ ।