नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपेन्द्र यादव ।

हेटौँडाः जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा संघीय व्यवस्था असफल भएको बताउनुभएको छ । बुधबार हेटौँडामा आयोजित नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संघीयताले मुलुकमा स्थायित्व दिन असफल भएको बताउनुभयो ।

संघीयता आएपनि देशमा बेथिति नहटेको उहाँले बताउनुभयो । उहाँले देशमा संघीय व्यवस्था असफल हुनुमा संविधानको संरचनागत ढाँचा नै गलत रहेको बताउनुभयो । स्थानीय र प्रदेश सरकारले अझै पनि आफ्नो अधिकार नपाउँदा काम गर्न नसकिरहेको उहाँले बताउनुभयो । जसले गर्दा मुलुकको अझै विकास हुन नसकेको उहाँको भनाई छ । मुलुकमा विकास गर्न, सुशासन कायम गर्न र जनतालाई लोकतन्त्रको प्रत्याभूति गराउन अहिलेको संविधानलाई सच्याएर नीति, नियम बनाउनुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउन संघीय गणतन्त्रलाई स्थापित गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । यसका लागि फेरि जनताले मुलुकमा देखिएको समस्याको अन्त्य गर्न संघर्ष गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले अहिले देशको आर्थिक स्तर झन खस्किँदै गइरहेको बताउनुभएको छ । देशमा बहुदलीय व्यवस्था स्थापना भएको धेरै भएपनि सुशासन कायम हुन नसक्दा मुलुकको आर्थिक विकास हुन नसकिरहेको उहाँको भनाई छ । उहाँले अहिले बन्द रहेको सबै उद्योगलाई चलाउने नीति बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । खस्केको शिक्षाको स्तर उकास्न, वेरोजगारी हटाउन र गरिबी न्यूनीकरण गर्न आवश्कयक रहेको यादवले बताउनुभयो ।